अमेरिका। अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका कूटनीतिक प्रयासले अपेक्षित गति लिन सकेका छैनन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा खासै प्रगति हुन नसकेको बताएका छन् ।
फ्रान्समा आयोजना हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै रुबियोले इरानका मागहरू अस्वीकार्य र केही माग अव्यावहारिक रहेको बताएका हुन् ।
उनले अमेरिका कुनै ठोस सहमतिनजिक पुगेको भन्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोज्न प्राथमिकता दिइरहेको उनको भनाइ छ ।
यसअघि आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पले सीएनएनसँगको अन्तर्वार्तामा वार्ताले प्रगति गरिरहेसम्म इरानमाथि पुनः ठूलो सैन्य आक्रमण सुरु हुने सम्भावना निकै कम रहेको बताएका थिए । तर, उनले थप सैन्य कारबाहीको सम्भावना भने पूर्ण रूपमा अस्वीकार गरेका छैनन् ।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले शनिबार ‘टास्क फोर्स आइरन गेट’ गठन गरेको घोषणा गरेको छ । करिब २० जना सैन्य अधिकारी तथा कर्मचारी सम्मिलित उक्त कार्यदलले अमेरिकी सरकारी निकायबीच समन्वय गर्दै इरानका स्थल सीमा तथा अन्य मार्गबाट हतियार र सामग्रीको आवतजावत रोक्ने काम गर्नेछ ।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत उक्त कार्यदल इरानमा पूर्ण रूपमा सक्रिय भइसकेको बताएका छन् । अमेरिकी नौसेनाको नाकाबन्दीका कारण इरानबाट हुने तथा इरानतर्फ आउने सामानको आवतजावत निकै कम भएको उनको दाबी छ ।
यसरी एकातिर कूटनीतिक वार्ता जारी रहे पनि अर्कोतर्फ अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीति अपनाइरहेको देखिन्छ ।
