काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखराले लगातार चार खेलको हारको शृंखला तोडेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा कर्णाली याक्स १९.३ ओभरमा १५४ रनमै समेटियो ।
पोखराको जितमा ओपनर युवराज सम्राले शतकीय इनिङ खेले । उनले ४७ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए । जारी सिजनको यो पहिलो शतक हो ।
त्यस्तै, कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रनको अर्धशतकीय पारी खेले । युवराज र कुशलले दोस्रो विकेटका लागि १३२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
कप्तान चमिका करुणारत्नेले पनि आक्रामक ब्याटिङ गर्दै अविजित ३५ रन जोडे । उनले ११ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
२१८ रनको लक्ष्य पछ्याएको कर्णालीले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । टोलीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ तथा कप्तान सोमपाल कामीले २१ रन जोडे ।
पोखराका मेहदी हसनले सर्वाधिक तीन विकेट लिए । उनले मार्क वाट, दीपक डुम्रे र डेविड मिलरलाई आउट गर्दै कर्णालीको ब्याटिङलाई दबाबमा राखे ।
त्यस्तै, कुशल भुर्तेल, धनञ्जय लक्ष्मण र विपिन खत्रीले समान दुई विकेट लिए ।
यस जितसँगै पोखराले चार हारपछि पहिलोपटक दुई अंक जोडेको छ । यसअघि पोखरा चितवन राइनोजसँग ३० रन, लुम्बिनी लायन्ससँग आठ विकेट, जनकपुर बोल्ट्ससँग नौ रन र सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
उता, हारसँगै पाँच खेलबाट चार अंक जोडेको कर्णाली छैटौँ स्थानमा छ । तीन हार र दुई जित व्यहोरेको कर्णालीको प्लेअफ यात्रा थप कठिन बनेको छ ।
