Premier Cables

विराटनगर

विराटनगरमा भारतीय बिरामीसँग घुस लिएको आरोपमा २ प्रहरी निलम्बित

Calendar शुक्रबार, जेठ ३०, २०८२  | राती ८:४५ बजे

विराटनगर । भारतीय नागरिकसँग घुस लिएको आरोपमा विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीका दुई प्रहरी सहायक हवल्दार निलम्बित भएका छन् ।

निलम्बनमा परेका प्रहरी हुन्– विक्रम माझी र अम्बरबहादुर श्रेष्ठ । उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिज्ञापन

घटनासँग सम्बन्धित अर्का प्रहरी सहायक निरीक्षक (असई) खम्बबहादुर विकको निलम्बनका लागि पनि प्रक्रिया सुरु भइसकेको छ । मोरङ प्रहरीले आवश्यक लेखापढी गरी कोशी प्रदेश प्रहरी कार्यालयमा सिफारिस पठाएको हो । तर, प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की अन्य जिल्लाको निरीक्षणमा रहेकाले निलम्बन प्रक्रिया टुंगिएको छैन ।
प्रचलित कानुनअनुसार हवल्दारसम्मको निलम्बन एसपीबाट र असईको निलम्बन डीआईजीबाट मात्र हुन सक्ने व्यवस्था छ ।

स्रोतका अनुसार विराटनगर–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटीमा खटिएका उक्त प्रहरीहरू भारतबाट आँखा उपचारका लागि आएका बिरामीसँग घुस लिएको आरोपमा मुछिएका हुन् । उनीहरूले बिरामीसँग ६ हजार भारतीय रूपैयाँ लिएको उजुरी परेको छ ।

एक प्रहरी अधिकारीका अनुसार पीडितसँग ४२ हजार भारु भएकोमा ‘२५ हजार भारुभन्दा बढी बोक्न पाइँदैन’ भन्दै प्रहरीले रोकेर बार्गेनिङ गर्दै अन्ततः ६ हजार भारु लिएर छाडेको आरोप छ ।

भोलिपल्ट पीडितहरू जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर उजुरी दिएपछि ती प्रहरीलाई रानीबाट तानेर अनुसन्धान थालिएको हो । यद्यपि, संलग्न भनिएका प्रहरीहरूले भने आफूहरूले कसैसँग पैसा नलिएको र धेरै भारु बोक्न नपाइनेबारे मात्र जानकारी गराएको दाबी गरेका छन् ।

नेपालमा ५०० र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध भए पनि उपचार जस्ता विशेष अवस्थामा आवश्यक कागजातका आधारमा प्रहरी प्रशासनले सहजीकरण गर्दै आएको छ ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार, आर्थिक अनुशासन उल्लंघनको विषय भएकाले आन्तरिक तहमा गम्भीर अनुसन्धान भइरहेको छ । “प्रहरीजस्तै संवेदनशील निकायमा यस्तो विवाद आएको हुँदा आवश्यक छानबिन अगाडि बढाइएको छ,” उनले भने ।

यसअघि पनि घुस लिएको आरोपमा विराटनगरकै असई रामअवतार यादव कारबाहीमा परेका थिए । सीआरभी केसलीयाका इन्चार्जका रूपमा खटिएका यादवलाई १३ हजार रूपैयाँ घुस लिएको आरोपमा जेठ १७ गते निलम्बन गरी अनुसन्धान थालिएको थियो ।

विराटनगरमा लगातार घुस प्रकरणमा प्रहरी मुछिन थालेपछि प्रहरी संगठनको इमेजमा समेत प्रश्न उठ्न थालेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो