Premier Cables
Premier Steel

राष्ट्रिय

तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २१, २०८३  | बिहान ११:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ ।

पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको जनाएको छ ।

विज्ञापन

विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनलाई प्रभावकारी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा पर्व अवधिका लागि गरिएको तयारी, प्रणाली सञ्चालन र सम्भावित प्राविधिक चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो ।

यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे समन्वय गरिएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध आउन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न पनि उनले आग्रह गरेका छन् ।

त्यस्तै, प्रसारणलाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।

प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा पूरा गर्न सकिने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।

पर्व अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा पर्याप्त उपलब्धता रहने प्राधिकरणको भनाइ छ ।

विद्युत्को माग र आपूर्तिको अवस्थालाई नियमित रूपमा अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka