विराटनगर । विराटनगरमा विद्यालय पोशाकमा हिँडिरहेका दुई जना युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १८ गते दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकमा उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका विद्यालय पोशाकमा रहेका दुई युवतीमाथि अभद्र व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो।
प्रहरीले खोजतलासका क्रममा विराटनगरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का ३५ वर्षीय महेश कुमार मण्डल र बारा परवानीपुर गाउँपालिका १ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छ।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
