Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

व्यक्तिगत विवादपछि एनभिडियाका जेन्सेन हुआङ पुनः सीईओमा नियुक्त

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | राती ८:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिले सोमबार सर्वसम्मत निर्णय गर्दै उनलाई तत्काल लागू हुने गरी अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्यको जिम्मेवारीमा फर्काएको हो।

विज्ञापन

व्यक्तिगत जीवनसँग जोडिएका विवाद सार्वजनिक भएपछि हुआङले नोभेम्बर १२ मा अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको थियो।

हुआङको राजीनामापछि उनलाई पुनः नेतृत्वमा फर्काउन कम्पनीका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकहरूले दबाब दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उनलाई पुनः नियुक्त गर्नुपर्ने धारणा राखेका थिए।

उनको पुनर्नियुक्तिको माग गर्दै सञ्चालन गरिएको अभियानमा एक लाख ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए।

हुआङले पनि सञ्चालक समितिले चाहे आफू नेतृत्वमा फर्कन तयार रहेको बताएका थिए। उनले व्यक्तिगत जीवनमा गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यसको जिम्मेवारी लिने र समितिको स्वतन्त्र छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

रोचक कुरा के छ भने केही दिनअघि मात्रै सञ्चालक समिति अध्यक्ष हार्भी जोन्सले हुआङलाई पुनः सीईओ बनाउने कुनै योजना नरहेको बताएका थिए। तर सोमबार समितिले आफ्नो अघिल्लो निर्णय उल्ट्याउँदै उनलाई पुनः जिम्मेवारी दिएको हो।

कम्पनीका अनुसार हुआङसँग पटक–पटक छलफल गरेपछि उनको स्पष्टता र नेतृत्व क्षमताप्रति सञ्चालक समिति विश्वस्त भएको हो। अमेरिकी सरकारका वरिष्ठ अधिकारीसँग समेत परामर्श गरिएको र उनको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा जोखिम नहुने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ।

पुनः जिम्मेवारीमा फर्किएपछि हुआङले कम्पनीको नेतृत्व गर्ने अवसर पाउनु सम्मानको विषय भएको बताएका छन्। उनले सञ्चालक समिति, कर्मचारी, सेयरधनी र व्यावसायिक साझेदारलाई धन्यवाद दिएका छन्।

यद्यपि, उनको व्यक्तिगत सम्बन्ध र सम्भावित विदेशी गुप्तचर गतिविधिसँग जोडिएका विषयमा स्वतन्त्र छानबिन भने जारी रहनेछ। यसका लागि सञ्चालक समितिले छुट्टै समिति गठन गरेको छ।

**गेमिङ चिपबाट एआईको विश्वव्यापी नेतृत्वसम्म**

एनभिडियाका संस्थापक हुआङले सन् १९९३ मा दुई इन्जिनियरसँग मिलेर कम्पनी स्थापना गरेका थिए। सुरुमा भिडियो गेमका लागि ग्राफिक्स चिप उत्पादन गर्ने कम्पनीलाई उनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा प्रयोग हुने चिपको प्रमुख आपूर्तिकर्ताका रूपमा विस्तार गरेका हुन्।

अहिले एनभिडिया विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक बनेको छ।

हुआङ पुनः सीईओमा फर्किए पनि कोलेट क्रेसले प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारी भने निरन्तर सम्हाल्ने कम्पनीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka