काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे संकल्प तथा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। देशभरका स्थानीय तह, जिल्ला, प्रदेश र प्रवासमा रहेका नेता–कार्यकर्तालाई काठमाडौंमा भेला गरेर आयोजना गरिएको कार्यक्रमले पार्टीभित्रको निराशा चिर्दै संगठनलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनको तयारीमा जुट्ने सन्देश दिएको छ।
भेलामा विभिन्न तहका जनप्रतिनिधिसमेत सहभागी थिए। पार्टीले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै संगठनलाई सक्रिय बनाउने उद्देश्यले भेला आयोजना गरेको जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाले पार्टीलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाएको दाबी गरेका छन्।
भेलापछि जारी वक्तव्यमा भनिएको छ, ‘हामी सिंगो पार्टीलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ।’
भेलामा प्रस्तुत दस्तावेज र नेताहरूका मन्तव्यमा पनि पार्टीलाई एउटै राजनीतिक तथा सांगठनिक लयमा अघि बढाउनुपर्ने विषयले प्राथमिकता पाएको थियो। भेलाका संयोजक भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीका सबै तहलाई एउटै दिशामा परिचालन गर्नु थियो।
ओलीको जोड आन्तरिक एकता र आन्दोलनको तयारीमा
दुई दिनसम्म चलेको भेलामा अध्यक्ष केपी शर्मा ओलीले पटकपटक सम्बोधन गर्दै पार्टीभित्रको एकता र आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार रहनुपर्नेमा जोड दिए।
उनले गत निर्वाचनमा बाह्य शक्तिको चलखेलका कारण पार्टीले ठूलो धक्का बेहोर्नुपरेको दाबी गर्दै त्यसको प्रतिवाद गर्न नेता–कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे।
वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले पनि आगामी निर्वाचनको तयारीमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गरे।
पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशाका विषयमा भने अध्यक्ष ओली र उपाध्यक्ष थापाले आन्दोलनको आवश्यकतामाथि विशेष जोड दिएका थिए। उनीहरूका अनुसार लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न एमालेले आवश्यक परे आन्दोलनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्छ।
भेलापछि जारी वक्तव्यमा भनिएको छ, ‘भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ।’
अध्यक्ष ओलीले सम्बोधनका क्रममा आफू र पार्टीका अन्य नेताहरूलाई सरकारले पक्राउ गर्न सक्ने तथा संविधानमाथि आक्रमण हुन सक्ने भन्दै नेता–कार्यकर्तालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।
यता पूर्वराष्ट्रपति भण्डारी, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले भने कार्यकर्तामा देखिएको निराशा त्यागेर आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।
संसदीय मोर्चासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष रामबहादुर थापाले आगामी निर्वाचनमा लोकतान्त्रिक दलहरूबीच सहकार्य हुन सक्ने संकेत गरेका थिए। उनका अनुसार आगामी निर्वाचन नयाँ तथा पपुलिस्ट शक्तिविरुद्ध लोकतान्त्रिक दलहरूबीचको प्रतिस्पर्धाका रूपमा अघि बढ्न सक्छ र त्यसका लागि चुनावी सहकार्य आवश्यक हुनेछ।
तीन हजारभन्दा बढी सहभागी, सुझाव राख्ने अवसर सीमित
राष्ट्रिय भेलामा तीन हजार ४१४ जना नेता–कार्यकर्तालाई सहभागी गराइएको थियो। तर, सहभागी सबैले प्रत्यक्ष रूपमा आफ्ना धारणा राख्ने अवसर पाएनन्।
नेताहरूका अनुसार भेला प्रशिक्षणमुखी भएकाले सहभागीलाई मन्तव्य राख्ने समय उपलब्ध नगराइएको हो। उनीहरूलाई लिखित रूपमा सुझाव पेस गर्न भनिएको थियो। तर, त्यसमा सहभागीहरूको उत्साह अपेक्षाकृत कम देखिएको एक सहभागीले बताए।
उनका अनुसार देशभरबाट आएका नेता–कार्यकर्ताको सुझाव संकलन गरेर पार्टीको आगामी रणनीति तय गर्न सकिने अवसर भेलाले गुमाएको छ।
यद्यपि, एक पदाधिकारीले देशभरका नेता–कार्यकर्तालाई एउटै ठाउँमा भेला गराउनु नै भेलाको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार नेतृत्वप्रति केही असन्तुष्टि र निराशा भए पनि पार्टीको संगठन जोगाउन तथा आगामी निर्वाचनमा सफलता हासिल गर्न कार्यकर्ताहरू एकजुट हुनुपर्ने भावना देखिएको छ।
भेलाभर ओलीकै प्रभाव, अन्य नेताको भूमिका सीमित
देशभरका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई एकै ठाउँमा भेला गरेर नयाँ अभ्यास गरिएको भए पनि कार्यक्रमभर अध्यक्ष ओलीको प्रभाव प्रमुख रूपमा देखियो। राजनीतिक कार्यदिशा, संगठनात्मक निर्णय, कार्यक्रमको व्यवस्थापनदेखि मन्तव्यसम्म ओली नै केन्द्रमा रहे।
सहभागीलाई वितरण गरिएको परिचयपत्रमा समेत यसअघि प्रतिनिधिको तस्वीर राख्ने गरिएकोमा यसपटक अध्यक्ष ओलीको ठूलो तस्वीर राखिएको थियो। कार्डमा ओलीको तस्वीरसँगै सहभागीको नाम समावेश गरिएको थियो।
मंसिर २ गते दिउँसो पौने १ बजे सुरु भएको भेलाको उद्घाटन सत्रमा ओली एक्लै वक्ता थिए। सचिव भानुभक्त ढकालले सञ्चालन गरेको कार्यक्रममा स्थायी कमिटीसम्मका नेताहरू अतिथिका रूपमा सहभागी थिए। ओलीले करिब एक घण्टा सम्बोधन गरेपछि उद्घाटन सत्र सकिएको थियो।
त्यसपछि सुरु भएको बन्दसत्रको अध्यक्षता पनि ओलीले नै गरेका थिए। पहिलो दिन उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रशिक्षणात्मक मन्तव्य राखेपछि पुनः ओलीले सम्बोधन गरेका थिए। पहिलो दिन उनले तीन पटक सम्बोधन गरेका थिए।
दोस्रो दिन पनि कार्यक्रमको अध्यक्षता गर्दै ओलीले मन्तव्य राखे। त्यसपछि वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक धारणा प्रस्तुत गरिन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय मोर्चाको प्रतिवेदन पेस गरे। उनीहरूको प्रस्तुतिपछि फेरि ओलीले नै सम्बोधन गरेका थिए।
भेला समापनपछि ओलीले दुई दिनको छलफलले एमाले थप एकताबद्ध बनेको बताएका थिए। सहभागीहरूका अनुसार उनले भेलामा प्रस्तुत गरेका विचार र निर्देशनलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका थिए।
भेलापछि बसेको केन्द्रीय कमिटी बैठकबाट तीन निर्णय
राष्ट्रिय भेला सम्पन्न भएपछि दिउँसो ३ बजे एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। महासचिव शंकर पोखरेलले बैठकको प्रारम्भिक भूमिका प्रस्तुत गरेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए। त्यसपछि बैठकको सञ्चालनसमेत ओलीले नै गरेका थिए।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ।
पहिलो, यसअघिको केन्द्रीय कमिटी बैठकबाट पारित दुई कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्देशन दिने निर्णय गरिएको छ।
दोस्रो, संगठनात्मक काम र नेताहरूको कार्यविभाजनसम्बन्धी निर्णय गर्ने अधिकार सचिवालय र स्थायी कमिटीलाई दिने निर्णय भएको छ।
तेस्रो, एमालेको अर्को केन्द्रीय कमिटी बैठक आगामी माघ महिनाको अन्त्यतिर बोलाउने निर्णय गरिएको छ।
यसका अतिरिक्त बैठकमा मनोनीत केन्द्रीय सदस्य श्रीप्रसाद शर्मालाई शपथ ग्रहण गराइएको थियो।
समग्रमा एमालेको राष्ट्रिय भेलाले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई मुख्य प्राथमिकता दिएको छ। तर, भेलामा अध्यक्ष ओलीको प्रमुख भूमिका, सहभागीलाई सीमित रूपमा मात्रै धारणा राख्ने अवसर र पार्टीको आगामी राजनीतिक कार्यदिशामा आन्दोलनलाई दिइएको प्राथमिकताले एमालेको आन्तरिक राजनीतिक अभ्यासबारे पनि विभिन्न प्रश्न उठाएको छ।
