विराटनगर । भारतबाट भन्सार छली नेपाल भित्र्याइएका सामान ओसारपसार गर्न ट्रान्सपोर्ट कम्पनीको प्रयोग हुने गरेको खुलेको छ। विराटनगरस्थित एक ट्रान्सपोर्ट कम्पनीमा ढुवानीका लागि लोड गर्ने तयारी अवस्थामा राखिएका ५७ बोरा अवैध खाद्य सामग्री सशस्त्र प्रहरीले बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार बिहीबार अपराह्न विराटनगर महानगरपालिका–७ स्थित भृकुटी चोकमा रहेको ‘नेपाल ट्रान्सपोर्ट’बाट उक्त सामग्री बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले ट्रान्सपोर्टमा ढुवानीका लागि लोड गर्ने तयारी अवस्थामा राखिएका सामान नियन्त्रणमा लिएको थियो।
बरामद सामग्रीमा ३७ बोरा खुर्सानी, १० बोरा केराउ र १० बोरा चनाको दाल रहेका छन्। प्रारम्भिक जानकारीअनुसार ती खाद्य सामग्री भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याएर ट्रान्सपोर्टमार्फत अन्यत्र पठाउने तयारी गरिएको थियो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सबै खाद्य सामग्री आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी भण्डारीले जानकारी दिए।
यस घटनाले सीमावर्ती क्षेत्रबाट भन्सार छली भित्र्याइएका वस्तुको ओसारपसारमा ढुवानी व्यवसायको प्रयोग भइरहेको आशंकालाई थप बल दिएको छ।
