काठमाडौं, मंसिर ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको सेन्जेनमा करिब ९० मिनेट लामो त्रिपक्षीय बैठक सम्पन्न भएको छ।
बैठकमा आणविक हतियार नियन्त्रण, विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा र रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको छ।
बैठकको सुरुआतमा चिनियाँ राष्ट्रपति सीले यस वार्तालाई युगान्तकारी महत्त्वको संज्ञा दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरू इतिहास रचिरहेको बताएका थिए भने रुसी राष्ट्रपति पुटिनले विश्व शान्ति र सुरक्षा कायम राख्नु अमेरिका, रुस र चीनको साझा जिम्मेवारी भएको धारणा राखेका थिए।
शीतयुद्धको मानसिकता त्याग्न सीको आग्रह
चिनियाँ राष्ट्रपति सीले अमेरिका, रुस र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन शीतयुद्धकालीन सोच त्यागेर सहकार्य र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
तीनै देश एकअर्काका साझेदार र मित्रका रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले प्रमुख शक्तिबीचको स्वस्थ संवाद विकल्प नभई अनिवार्य आवश्यकता भएको उल्लेख गरे।
ठूला शक्तिबीच द्वन्द्व बढे विश्व नै अस्थिरता र अराजकतातर्फ धकेलिन सक्ने चेतावनी दिँदै सीले साझा चुनौती समाधानका लागि सहकार्य गर्नुपर्ने बताए।
आणविक हतियारको जोखिमप्रति सचेत गराउँदै उनले आणविक युद्धबाट कसैले जित हासिल गर्न नसक्ने भएकाले त्यसलाई रोक्न सबै पक्षले प्रयास गर्नुपर्ने धारणा राखे।
उनले विश्वव्यापी ऊर्जा आपूर्तिमा स्थिरता कायम राख्न तीनै देशबीच समन्वय र नियमित उच्चस्तरीय संवाद आवश्यक रहेको पनि बताए।
विश्व सुरक्षाको जिम्मेवारी तीन शक्तिमाथि: ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका, रुस र चीन विश्वका तीन प्रमुख आणविक शक्ति भएकाले विश्वलाई सुरक्षित बनाउने विशेष जिम्मेवारी उनीहरूमाथि रहेको बताएका छन्।
विगतका अमेरिकी राष्ट्रपतिहरू मतभेद भएका देशका नेतासँग संवाद गर्न हिचकिचाउने गरेको उल्लेख गर्दै ट्रम्पले आफू भने वार्तामार्फत समस्या समाधान गर्ने पक्षमा रहेको बताए।
उनका अनुसार शान्ति स्थापना गर्न संवादका अवसरलाई अस्वीकार गर्नु हुँदैन। तीनै देशका नेताबीच भएको पहिलो त्रिपक्षीय बैठकलाई उनले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे।
ट्रम्पले आणविक हतियारको संख्या घटाउने, तिनको प्रयोगको जोखिम कम गर्ने र विश्वमा आणविक हतियारको प्रसार रोक्ने विषयमा तीनै देशले मिलेर काम गर्न सक्ने बताए।
इरानको विषय उठाउँदै उनले अमेरिकाले कुनै पनि अवस्थामा इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट पारे।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि छलफल
बैठकमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयले समेत प्राथमिकता पाएको ट्रम्पले बताएका छन्।
रुसी राष्ट्रपति पुटिनसँग यसअघि पनि युद्धबारे लामो छलफल भएको जानकारी दिँदै उनले युद्ध अन्त्यका लागि केही सकारात्मक प्रगति भइरहेको उल्लेख गरे।
पुटिन र युक्रेन दुवै पक्ष युद्ध अन्त्य गर्न इच्छुक हुने आफ्नो अपेक्षा रहेको बताउँदै ट्रम्पले संवादमार्फत शान्तिको बाटो खोज्न सकिने विश्वास व्यक्त गरे।
यसका साथै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को अधिकार क्षेत्र र राष्ट्रिय सार्वभौमसत्ताको संरक्षणबारे पनि छलफल गर्नुपर्ने ट्रम्पको भनाइ थियो। उनले आईसीसी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको आरोपसमेत लगाए।
ताइवान र आणविक हतियारमुक्त विश्वबारे सीको जोड
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले चीन–अमेरिका सम्बन्धमा थप तनाव उत्पन्न हुन नदिन ताइवानको विषयमा अमेरिकाले उचित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
उनले आणविक हतियारमुक्त विश्व निर्माणका लागि आणविक हतियारमाथि व्यापक प्रतिबन्ध लगाउँदै तिनलाई पूर्ण रूपमा नष्ट गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।
तीन प्रमुख विश्वशक्तिका नेताबीच भएको यस वार्तालाई अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र शक्ति सन्तुलनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
