काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्वलाई सधैंका लागि अन्त्य गर्ने उद्देश्यसहित नयाँ शान्ति प्रस्ताव अघि सारेको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् प्रस्तुत गरिएको हो।
बीबीसीका अनुसार अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावलाई करिब दुई सातासम्म विस्तृत रूपमा अध्ययन गरेपछि इरानी नेतृत्वले आफ्नै प्रस्ताव तयार पार्दै पाकिस्तानमार्फत् सन्देश पठाएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए। उनले तोकिएको समयभित्र मार्ग खुला नभए इरानका विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने चेतावनी दिएका थिए। सो समयसीमा सकिनुभन्दा एक दिनअघि इरानले युद्ध अन्त्यका लागि शान्ति पहल अघि सारेको हो।
अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भइरहेको पुष्टि गरेका थिए। तर उनले तेहरानले अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गरेको स्पष्ट पारेका थिए। आईआरएनएका अनुसार इरानले आफ्नो १० बुँदे जवाफमा विगतका अनुभवलाई आधार मान्दै तत्काल युद्धविरामको अवधारणालाई अस्वीकार गरेको छ।
इरानले दीर्घकालीन समाधान आफ्नै सर्तहरूमा खोजिनुपर्नेमा जोड दिएको छ। प्रस्तावमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन सुनिश्चितता, पुनर्निर्माण तथा प्रतिबन्ध हटाउने जस्ता मागहरू समेटिएको जनाइएको छ।
