काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषको प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । हिमाली भेगमा हिमपातसमेत भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि (कात्तिक १३ र १४ गते) देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
महाशाखाले कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भोलि अपराह्नदेखि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने महाशाखाको पूर्वानुमान छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आगामी ३० घण्टा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले विशेषगरी नदी किनारमा बसोबास गर्ने र हिमाली क्षेत्रमा रहेका नागरिकलाई सचेत रहन आग्रह गरेका हुन् । उनका अनुसार अर्नब चक्रवातसँग सम्बन्धित न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढा रहे पनि साँझसम्म नेपालनजिक आइपुग्दा करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्छ ।
विभागकै अर्का सहप्राध्यापक डा. मदन सिग्देलले पनि आज बेलुकादेखि भोलि बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी क्षेत्र तथा वाग्मती, मधेस र कोसी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना औँल्याएका छन् ।
उनका अनुसार अर्नब चक्रवातको प्रभावले बिहीबारदेखि नै देशका अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार बेलुकादेखि भने वर्षा रोकिने सम्भावना रहेको उनले बताएका छन् ।
वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
