काठमाडौं । भुटानको गसा जिल्लास्थित लेम्थाङमा हिमताल फुटेर भीषण बाढी आएको छ। बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि भारतको पश्चिम बंगालमा उच्च सतर्कता अपनाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लास्थित प्रसिद्ध पर्यटकीय स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका संरचनामा क्षति पुर्याएको छ। घटनामा हालसम्म मानवीय क्षति वा कोही घाइते भएको खबर सार्वजनिक भएको छैन।
रातिको समयमा आएको बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न कठिन भइरहेको बीबीएसले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।
भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्र जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्र खाली गराइएको थियो।
भुटानमा हिमताल फुटेको खबरपछि पश्चिम बंगाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। सङ्कोश नदी र यसका सहायक नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। विशेषगरी दार्जिलिङ र डुअर्स क्षेत्रका नागरिकलाई सतर्क रहन भनिएको छ।
दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
त्यस्तै, राज्यमन्त्री निसिथ प्रामाणिकले हिमताल फुटेको खबर प्राप्त हुनासाथ सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सतर्क गराइएको बताएका छन्। बाढीको पानी ५ देखि ६ घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको उनले जानकारी दिएका छन्।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले अवस्था नियन्त्रणमा रहेको भन्दै नागरिकलाई नआत्तिन आग्रह गरेका छन्। उनका अनुसार जिल्ला प्रशासन, भुटानी अधिकारी र विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको छ।
प्रहरी प्रमुख शाहका अनुसार करिब ४ देखि ५ हजार मानिसलाई विद्यालय भवनमा स्थापना गरिएका राहत शिविरमा राखिएको छ भने ६ हजारभन्दा बढीलाई अन्य सुरक्षित स्थानमा सारिएको छ। पछिल्लो जानकारीअनुसार पानीको बहाव केही घटेको भए पनि प्रशासनले सतर्कता कायम राखेको छ।
राहत शिविरमा प्रभावितका लागि सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ।
हिमताललाई रोकिरहेको प्राकृतिक बाँध भत्किएर वा फुटेर ठूलो मात्रामा पानी तल्लो क्षेत्रमा बग्ने प्रक्रियालाई हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) भनिन्छ। यस्तो बाढीले हिमाली क्षेत्रमा रहेका बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्याउन सक्छ।
भुटानको गसा जिल्लास्थित वाकिला पहाडमुनि रहेको शिन्ताफु ताललाई देशका १७ जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ।
