काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरेको हो।
नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर संकलन गर्न लागिएको आयोजनाले जनाएको छ।
निर्धारित शुल्कअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर कायम गरिएको छ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार कात्तिक १५ गतेदेखि सुरुङमार्गमा सडक उपभोग दस्तुर संकलन सुरु हुनेछ।
