फायल फोटो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ सदस्यले मुख्यालयको ताला खोलेर बैठकको प्रक्रिया अघि बढाउने भएका छन्। लिखित माग गर्दा पनि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक नबोलाएपछि उनीहरू आफैँ बैठक आयोजना गर्ने तयारीमा जुटेका हुन्।
एन्फाको विधानको धारा ३१(२) अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित रूपमा माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार २२ दिनअघि सदस्यहरूले बैठक आह्वान गर्न माग गरेका थिए।
तर, २१ दिनसम्म पनि अध्यक्ष नेम्बाङले बैठक नबोलाएपछि आफैँ बैठक बोलाउने तयारी गरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए।
‘विधानको व्यवस्थाअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्यौँ। तर, अध्यक्षज्यूले बैठक डाक्नुभएन। अब मेरो नेतृत्वमा बैठक डाकेर आवश्यक निर्णय गर्छौँ,’ खड्काले अनलाइनखबरसँग भने।
उनीहरूले ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा लगाइएको ताला खोल्ने तयारी गरेका छन्। ताला खोलेपछि कात्तिक १३ गतेका लागि बैठक आह्वान गर्ने पत्र काटिने एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए।
लामाका अनुसार उक्त बैठकबाट सरकार, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई आवश्यक सहजीकरणका लागि पत्राचार गर्ने तयारी छ।
