काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमै भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सले तेस्रो सिजनमा पनि विदेशी खेलाडीको साथमा उपाधि जित्ने लक्ष्य राखेको छ ।
यसपटक कर्णालीले दक्षिण अफ्रिकाका बायाँ हाते ब्याटर डेविड मिलर र पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहानलाई अनुबन्ध गरेको छ । तर, फरहान तत्काल टोलीमा उपलब्ध नहुने भएकाले उनले सुरुआती दुई खेल गुमाउने बताइएको छ ।
कर्णालीले बंगलादेशका विकेटकिपर ब्याटर अकबर अली, आक्रामक ब्याटर अरिफुल इस्लाम र पाकिस्तानका हुसेन तलतलाई पनि टोलीमा समेटेको छ । स्कटल्यान्डका बायाँ हाते स्पिनर मार्क वाटलाई भने निरन्तरता दिइएको छ ।
अघिल्ला दुई सिजन कर्णालीका लागि उत्कृष्ट प्रदर्शन गरेका विल बोसिस्टो यसपटक टोलीमा छैनन् । उनी यस सिजन काठमाण्डू गोर्खाजमा आबद्ध भएका छन् । उनको अनुपस्थितिमा कर्णालीको ब्याटिङको मुख्य जिम्मेवारी अनुभवी मिलरमाथि रहने देखिन्छ । मिलरलाई अकबर अली र अरिफुल इस्लामजस्ता खेलाडीले साथ दिने अपेक्षा गरिएको छ ।
मार्क वाट, हुसेन तलत र गुल्शनकुमार झा टोलीका अलराउन्डरका रूपमा महत्त्वपूर्ण रहनेछन् । गत सिजन वाटले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका थिए । उनले पाँच विकेट लिनुका साथै २४६ रन बनाएका थिए ।
त्यस्तै, गुल्शनले एनपीएलका अघिल्ला दुई सिजनमा २४२ रन बनाउनुका साथै चार विकेट लिएका छन् । क्षमता हुँदाहुँदै पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका गुल्शनबाट यसपटक टोलीले ठूलो आशा राखेको छ ।
कर्णालीको बलिङको मुख्य जिम्मेवारी नन्दन यादव र सोमपाल कामीको काँधमा रहनेछ । एनपीएलका अघिल्ला दुई सिजनमा नन्दनले १९ र सोमपालले १८ विकेट लिएका छन् । सोमपालले बलिङसँगै तल्लो क्रमको ब्याटिङमा पनि योगदान दिन सक्छन् । उनले दुई सिजनमा १०३ रन बनाएका छन् ।
स्पिन बलिङमा विपिनप्रसाद शर्मा कर्णालीका महत्त्वपूर्ण खेलाडी हुन् । उनले अघिल्ला दुई सिजनमा १५ विकेट लिएका छन् । पहिलो सिजनमा प्रभावशाली प्रदर्शन गरेका विपिन दोस्रो सिजनमा भने अपेक्षाअनुसार चल्न सकेनन् । यसपटक उनीबाट टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।
कर्णालीसँग पवन सर्राफ, युवराज खत्री, युनिशविक्रम सिंह ठकुरी, सूर्य तामाङ र दीपक डुम्रेसहितका युवा खेलाडी पनि छन् । अनुभवी विदेशी खेलाडी र युवा प्रतिभाको संयोजनले टोलीलाई प्रतिस्पर्धात्मक बनाउन सक्ने देखिन्छ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णालीको प्रदर्शन भने मिश्रित रह्यो । १६ खेल खेलेको टोलीले सात जित र नौ हार बेहोरेको छ ।
पहिलो संस्करणमा कर्णालीले लिग चरणमा चार जित र तीन हार निकाल्दै समान अंक भएको काठमाण्डू गोर्खाजलाई रनरेटमा पछि पारेर प्लेअफमा स्थान बनाएको थियो । इलिमिनेटरमा चितवन राइनोजलाई हराएको कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
दोस्रो संस्करण भने कर्णालीका लागि निराशाजनक रह्यो । टोलीले जम्मा दुई खेल जित्दै छैटौँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको थियो ।
हिमालयन बिल्डर्सले १ करोड ११ लाख रुपैयाँमा कर्णाली याक्सको स्वामित्व खरिद गरेको थियो । एनपीएलका फ्रेन्चाइजमध्ये सबैभन्दा कम मूल्यमा स्वामित्व बिक्री भएको टोलीका रूपमा रहेको कर्णालीले यसपटक मैदानमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएको छ ।
