फायल फोटो
विराटनगर । सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भोजपुरबाट चतरातर्फ आउँदै गरेको जेटबोट अरुण र दूधकोशीको त्रिवेणी क्षेत्रनजिक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार मृत्यु हुनेमा एक बालिका, एक महिला र एक पुरुष छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन फेल भएको थियो । इन्जिन बन्द भएपछि नदीमा बग्ने क्रममा बोट दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनाग्रस्त जेटबोटमा १६ जना सवार रहेको बताइएको छ । यद्यपि, १२ जनाले मात्रै टिकट काटेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकामध्ये पाँच जना सकुशल घर फर्किसकेका छन् भने एक जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ ।
जेटबोट चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
