Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा विशाल जलविद्युत् बाँधको विरोधमा हिंसा, ४० प्रहरी घाइते

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा करिब ४० जना प्रहरी घाइते भएका छन् भने सरकारी कार्यालय, प्रहरी चौकी र जनप्रतिनिधिका घरमा तोडफोड तथा आगजनी भएको छ ।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध शुक्रबार राति भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

विज्ञापन

शनिबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री खाण्डुले प्रदर्शनकारीले ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको बताउनुभयो । उहाँका अनुसार भीडले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको छ ।

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । मुख्यमन्त्री खाण्डुले स्थानीयवासीलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाबाट हुन सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नै बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।

चिनियाँ बाँध निर्माण भएपछि ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरेर नदीको बहाव व्यवस्थापन गर्न सकिने नयाँ दिल्लीको तर्क छ । यद्यपि, चीनले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गर्दै आएको छ ।

भारत सरकारले परियोजनालाई आवश्यक ठहर गरे पनि स्थानीय समुदायले भने विरोध गर्दै आएका छन् । बाँध निर्माण भए आफूहरूले घरजग्गा गुमाउनुपर्ने र विस्थापित हुनुपर्ने चिन्ता स्थानीयवासीको छ ।

यस घटनाले हिमालय क्षेत्रमा भारत र चीनबीच कायम सीमा विवाद तथा तनावलाई समेत पुनः उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भूभाग भएको बताउँदै आएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापनका लागि दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताउनुभएको थियो ।

उहाँका अनुसार चिनियाँ सेनाले स्थापित गस्ती प्रणालीभन्दा फरक गतिविधि गर्दा सीमा क्षेत्रमा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै देशले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइका कारण तनाव बढ्न नदिन प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka