विराटनगर । अहिले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ कि रेस्लिङ प्रतियोगिता?कतै धकेलाधकेल, कतै कुर्सी हानाहान, कतै मुक्काको वर्षा त कतै कुटपिट र तोडफोड। पछिल्ला केही दिनयता नेपाली कांग्रेसको अधिवेशनका क्रममा सार्वजनिक भएका दृश्यहरू हेर्दा यो पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास हो कि रेस्लिङको रिङ हो-छुट्याउनै गाह्रो हुन थालेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशनबाट सुरु भएको निर्वाचन प्रक्रिया अहिले क्षेत्रीय तहसम्म आइपुगेको छ। असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।
अधिवेशन भनेको लोकतान्त्रिक अभ्यास हो। नेतृत्व चयन गर्ने, विचार राख्ने, असहमति व्यक्त गर्ने र मतका माध्यमबाट आफ्नो प्रतिनिधि रोज्ने अवसर हो। तर पछिल्ला घटनाक्रमले कांग्रेसको यही लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
मोरङलाई मात्रै हेर्ने हो भने पनि अधिवेशनसँगै विवाद र झडपका घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन्।
विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा मतदानकै क्रममा दुई पक्षबीच कुटाकुट भयो। विवादका कारण केही समय मतदानसमेत प्रभावित बन्यो।
मोरङ क्षेत्र नम्बर १ को अधिवेशनमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका आकांक्षी देवराज चाम्लिङ राईबीच विवाद भयो। घटनाका क्रममा चाम्लिङलाई मञ्चमै धक्का दिइएको भिडियो समाजिक संजालमा भाइरल बन्यो ।
अझ पछिल्लो उदाहरण मोरङ क्षेत्र नम्बर ६ हो। सुन्दरहरैँचामा भएको क्षेत्रीय अधिवेशनका क्रममा विवाद चर्किएपछि कुटपिट र तोडफोड भयो। केही नेता तथा कार्यकर्ता घाइते भए, कुर्सीहरू तोडफोड भए र निर्वाचन प्रक्रिया प्रभावित बन्यो। घटनामा क्रियाशील सदस्यताको विषयदेखि प्रतिनिधिको नामावलीसम्मका विवाद जोडिएको बताइएको छ।
यी घटना मोरङका केही उदाहरण मात्र हुन्। देशका अन्य स्थानमा पनि कांग्रेसको अधिवेशनका क्रममा विवाद, असन्तुष्टि र झडपका समाचार सार्वजनिक भइरहेका छन्।
अझ महाधिवेशनको मुख्य चरण नजिकिँदै गर्दा यस्तो प्रवृत्ति बढ्दै जाने हो भने भोलि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको दृश्य कस्तो होला?
मञ्चमा भाषणभन्दा पहिले कुर्सी सुरक्षित गर्नुपर्ने हो कि?
मतपत्रभन्दा पहिले हेल्मेट बाँड्नुपर्ने हो कि?
निर्वाचन अधिकृतभन्दा पहिले सुरक्षाकर्मी खोज्नुपर्ने हो कि?
व्यङ्ग्य गर्दै भन्न मन लाग्छ-यदि यही शैलीमा कांग्रेसको अधिवेशन अघि बढ्ने हो भने केन्द्रीय महाधिवेशनमा एउटा रेस्लिङ रिङ नै तयार गरे हुन्छ।
तर प्रश्न रिङको होइन, राजनीतिक संस्कारको हो।
प्रश्न उठ्छ—यही हो त ‘नयाँ कांग्रेस’?
कांग्रेस आफैंले आफ्नो १५औँ महाधिवेशनलाई लोकतान्त्रिक नवीकरण, संवाद, सहमति र व्यापक सहभागिताको अवसरका रूपमा अघि बढाउने बताउँदै आएको छ। तर मैदानमा देखिएका यस्ता दृश्यले भने नेतृत्वको भाषण र कार्यकर्ताको व्यवहारबीच ठूलो दूरी देखाइरहेका छन्।
असहमति हुनु स्वाभाविक हो। निर्वाचनमा प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। हार–जित हुनु पनि स्वाभाविक हो। तर विचारको ठाउँमा हातपात, मतको ठाउँमा मुक्का, बहसको ठाउँमा कुर्सी र संगठन निर्माणको ठाउँमा तोडफोड आउन थाल्यो भने प्रश्न केवल एउटा अधिवेशनको रहँदैन, पार्टीको राजनीतिक संस्कारमाथि नै उठ्छ।
कांग्रेसले आफूलाई देशकै पुरानो र ठूलो लोकतान्त्रिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। त्यसैले यसको अधिवेशनमा देखिने हरेक गतिविधि केवल कांग्रेसको आन्तरिक विषय मात्र होइन, नेपालको राजनीतिक संस्कारसँग पनि जोडिन्छ।
कांग्रेस २.० भन्ने हो भने नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक संस्कार पनि देखिनुपर्छ। प्रतिस्पर्धा होस्, तर मर्यादित होस्। असहमति होस्, तर संवादबाट समाधान खोजियोस्। निर्वाचन होस्, तर कार्यकर्ता एक–अर्काका शत्रु नबनून्।
अन्ततः अधिवेशनबाट जित्ने व्यक्ति मात्र होइन, जित्नुपर्ने कांग्रेस हो।
कुर्सी फुटाएर नेतृत्व चयन गर्न सकिँदैन। मुक्का हानेर लोकतन्त्र बलियो हुँदैन। र धकेलाधकेलबाट संगठन निर्माण हुँदैन।
यदि कांग्रेसले साँच्चिकै आफूलाई नयाँ बनाउने हो भने सबैभन्दा पहिले अधिवेशनस्थलबाट रेस्लिङको संस्कार हटाएर लोकतान्त्रिक संस्कार स्थापित गर्नुपर्ने देखिन्छ।
नत्र भोलि इतिहासले प्रश्न गर्नेछ-
त्यो कांग्रेसको १५औँ महाधिवेशन थियो कि देशकै ठूलो राजनीतिक रेस्लिङ प्रतियोगिता?
