विराटनगर । मोरङमा आगामी शुक्रबारदेखि आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबान हुन सक्ने प्रशासनले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन भनेको छ। जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
त्यस्तै, अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन प्रशासनले अनुरोध गरेको छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन, साथै पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत आग्रह गरिएको छ।
नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
यसैगरी, मोरङका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ।
आपत्कालीन सम्पर्क नम्बर
वर्षा तथा बाढीको जानकारी: ११५५
विपद् सहायता: १२३४
नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल, नेपाल: १११४
सूचना निमित्त प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले जारी गरेका हुन्।
