धरान । धरान–१३ स्थित जिरो प्वाइन्टमा आइतबार (माघ ४) भएको स्कुल बस दुर्घटनामा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिकै रहेको एक औषधि पसलमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये महोत्तरीको गैडाबिदपुरका स्कुल सञ्चालक ३१ वर्षीय धैरिया कुमार यादव र जनकपुर घर भएका १८ महिनाका रियव कुमार मण्डलको पहिचान खुलेको छ । अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।
बसमा सवार ११ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धरान–१३ की ४३ वर्षीया यसोदा श्रेष्ठ, जनकपुरका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल र ४० वर्षीया मनिता देवी मण्डल रहेका छन् ।
यसैगरी ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीया सुनेनादेवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षीया रिता मण्डल, अर्का ३८ वर्षीय जितेन्द्र मण्डल तथा बस चालक २५ वर्षीय मोहम्मद गुलाल घाइते भएका छन् । एक जना घाइतेको नाम खुल्न बाँकी छ ।
घाइतेहरूको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी भीषण बाबु राईले जानकारी दिए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसल र एक स्कुटर समेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
