Premier Cables

राजनीति

कांग्रेसमा गगन र शेखरबीच भएको सहमति के हो ?

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २२, २०८३  | बिहान ९:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न नेता शेखर कोइरालाको नेतृत्वमा छुट्टै राजनीतिक ‘संयन्त्र’ बनाउन तयार देखिएका छन्।

आइतबार नेता कोइरालासँग भएको भेटमा सभापति थापाले महाधिवेशनको निष्पक्षताका लागि बन्ने १५ सदस्यीय संयन्त्रको नेतृत्वसमेत आफूले नलिने र कोइरालालाई नेतृत्व दिन सकिने प्रस्ताव गरेका हुन्। प्रस्तावअनुसार संयन्त्रमा थापा पक्षबाट ८ जना र इतरपक्षबाट ६ जना सदस्य रहनेछन्।

विज्ञापन

यसअघि संस्थापन इतरपक्षले महाधिवेशन निष्पक्ष बनाउन छुट्टै राजनीतिक संयन्त्र गठन गर्नुपर्ने माग राखेको थियो। त्यसमा १५ सदस्यीय संयन्त्र गठन गरी सभापतिसहित बहुमत सदस्य संस्थापन पक्षबाट र बाँकी सदस्य इतरपक्षबाट राख्नुपर्ने प्रस्ताव थियो। संस्थापन पक्ष भने उक्त प्रस्तावमा सहमत भएको थिएन।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले संयन्त्र गठन तथा त्यसबाट महाधिवेशनको सम्पूर्ण तयारी अघि बढाउने अधिकार केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराएर अघि बढ्न सभापतिसहितको नेतृत्व तयार रहेको बताएका छन्।

यसैबीच, नेता शेखर कोइरालाले सभापति थापासँग भएको छलफलबारे देउवा पक्षका नेताहरूलाई जानकारी गराएका छन्। तर, देउवा पक्षले थापाको पछिल्लो प्रस्ताव स्वीकार गर्ने तत्परता देखाएको छैन।

आइतबार महाराजगन्जमा बसेको देउवा पक्षको बैठकमा सहभागी नेता प्रकाशशरण महतले अदालतमा विचाराधीन मुद्दाको अन्तिम टुंगो लाग्नुअघि सहमति खोज्ने हो भने १४औँ महाधिवेशनबाट आएको नेतृत्वकै आधारमा १५औँ महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्। उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन गराउने विषयमा सहमति भए अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएर पार्टी एकताको वातावरण बनाउन सकिनेछ।

पार्टीभित्र सहमतिको प्रयास भइरहेकाले कांग्रेसले तल्लो तहका अधिवेशनको कार्यतालिका पनि संशोधन गर्ने तयारी गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १६ देखि १९ असोजसम्म हुने केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै वडा तहसहितका अधिवेशनको तालिका संशोधन गर्न निर्वाचन समितिलाई निर्देशन दिएको छ। निर्वाचन समितिले ३ असोजमा वडा अधिवेशन गर्ने गरी नयाँ तालिकाबारे छलफल थालेको छ।

सभापति थापाको पछिल्लो प्रस्तावप्रति नेता पूर्णबहादुर खड्का पनि सकारात्मक देखिएका छन्। खड्का निकट नेता श्याम घिमिरेले संस्थापन पक्षले एकताका लागि लचकता देखाएको हो भने खड्का संवादमार्फत सहमति खोज्न तयार रहेको बताएका छन्।

विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा छ। विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्चको फैसलामा त्रुटि रहेको दाबी गर्दै पूर्वसभापति देउवा र खड्काले पुनरावलोकनका लागि छुट्टाछुट्टै निवेदन दिएका थिए। सर्वोच्चले गत २१ साउनमा ती निवेदनमाथि पुनरावलोकन गर्न अनुमति दिएको थियो।

महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै परेको पूरक रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कांग्रेसको संस्थापन पक्षलाई महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। यद्यपि, पार्टी एकता कायम गर्न सभापति थापा पछिल्लो समय विभिन्न विकल्पमा लचक देखिएका छन्।

महामन्त्री पौडेलका अनुसार विशेष महाधिवेशनको औचित्यलाई कायम राख्दै संस्थापन पक्ष आवश्यक विषयमा सहमति र लचकता अपनाउन तयार छ। तल्लो तहका अधिवेशन केही समय पछि सारेर केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्नुको उद्देश्य पनि पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्नु रहेको उनको भनाइ छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka