काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
आफूलाई ‘Extremist Group of Nepal (EGN)’ को अध्यक्ष बताउँदै सन् २०२५ अक्टोबर २२ मा प्रयोग गरेको इमेल आईडीमार्फत अख्तियारका प्रमुख आयुक्त लगायत १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक पक्राउ परेका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको समन्वयमा र सहयोगमा उनलाई फिलिपिन्समा पक्राउ गरी मिति २०८२ माघ २८ गते नेपाल ल्याइएको हो। नेपाल ल्याइएपछि सोही दिन काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाठकमाथि आपराधिक षडयन्त्र गर्न नहुने, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतका कसूरमा अनुसन्धान भइरहेको छ।
यसैबीच, उनीविरुद्ध विभिन्न मितिमा केही सार्वजनिक अपराध, ठगी, आपराधिक लाभ लिन नहुने तथा आपराधिक षडयन्त्रसम्बन्धी गरी ६ वटा मुद्दा दर्ता भएको समेत खुलेको प्रहरीले जनाएको छ।
