फायल फोटो
विराटनगर । जिल्ला कारागार मोरङमा लामो समयदेखि विवादमा रहँदै आएको ‘बी’ ब्लकमा शुक्रबार भएको झडपपछि चञ्चल बर्मासहित १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ ।
कारागारभित्र समूह बनाएर अन्य कैदीबन्दीलाई दबाब दिने, यातना दिने तथा प्रशासनविरुद्ध गतिविधि गर्ने गरेको आरोप लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ ।
शुक्रबार कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यस क्रममा अर्को समूहका कैदीबन्दीले चञ्चल बर्माको समूहलाई कुटपिट गरेर सुरक्षाकर्मीको जिम्मा लगाएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चौकीदार विशाल निरौलासहित १९ जनालाई कारागारबाट निकालिएको हो । उनीहरूलाई सुरक्षा संवेदनशीलताका कारण पुनः मोरङ कारागारमा नफर्काउने तयारी गरिएको छ ।
प्रशासनले उनीहरूलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि पनि स्थानान्तरणको प्रयास गरिए पनि कैदीबन्दीले भित्रबाट ताला लगाएर अवरोध गरेपछि प्रक्रिया रोकिएको थियो ।
चञ्चल बर्मा भारतीय नागरिक हुन् । मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्षको कैद सजाय भोगिरहेका उनी २०८० सालमा पक्राउ परेका थिए । प्रशासनका अनुसार बर्माले कारागारको ‘बी’ ब्लकमा प्रभाव जमाउँदै ठूलो संख्यामा कैदीबन्दीलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्दै आएका थिए ।
त्यस्तै, जबर्जस्ती करणी मुद्दामा रहेका मनिष विश्वकर्मा, लागुऔषध मुद्दामा १० वर्षको कैद सजाय भोगिरहेका कुनाल सिंह र खुन–डाँका मुद्दाका कार्तिक कामतलाई पनि उक्त समूहका प्रभावशाली सदस्यका रूपमा प्रशासनले चिनाएको छ ।
प्रशासनका अनुसार उनीहरूले करिब १० देखि १२ जनाको छुट्टै समूह बनाएर कारागारभित्र आफ्नो प्रभाव कायम राख्ने प्रयास गर्दै आएका थिए ।
१९ जनालाई बाहिर निकालेपछि कारागारभित्रको अवस्था अहिले सामान्य रहेको प्रशासनले जनाएको छ ।
