विराटनगर । मोरङ कारागारको ‘बी’ ब्लक पछिल्लो समय सुरक्षा निकायका लागि गम्भीर चुनौती बनेको छ। १ हजार २ सय ३५ जना कैदीबन्दी रहेको कारागारको ‘बी’ ब्लकमा प्रशासनको नियमित पहुँचसम्म ठप्प भएपछि भित्रको वास्तविक अवस्था बाहिरबाटै नियाल्नुपर्ने बाध्यता सिर्जना भएको छ।
सुरक्षा स्रोतका अनुसार ५ सय ६५ कैदीबन्दी रहेको ‘बी’ ब्लकमा १० देखि १२ जनाको छुट्टै समूह बनाएर चार जना कुख्यात कैदीबन्दीले आफ्नो वर्चस्व कायम राखेका छन्।
भर्खरै कैद भुक्तान गरेर निस्किएका एक व्यक्तिका अनुसार उक्त समूहको निर्देशन नमान्ने कैदीबन्दीमाथि मरणासन्न हुने गरी कुटपिट हुने गरेको छ। कुटपिटबाट जोगिनकै लागि अन्य कैदीहरू उनीहरूले भनेअनुसार नाराबाजी गर्ने, टायर बाल्ने र आन्दोलनमा सहभागी हुन बाध्य भइरहेका छन्।
कारागारमा चन्चल बर्मा जाे मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्ष कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक,मनिष विश्वकर्मा जाे जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्,लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय पाएका कुनाल सिंह र कार्तिक कामत जाे खुन-डाँका मुद्दामा कैद भुक्तान गरिरहेका छन् उनीहरुले बी ब्लकलाइ अशान्त बनाइरहेका छन् ।
गत भदौ १४ गते साँझ प्रहरीले आपत्कालीन अवस्थाका लागि गरेको आन्तरिक सुरक्षा अभ्यास ‘स्ट्यान्ड-टु’ को विरोध गर्दै ‘बी’ ब्लकका कैदीबन्दीले भीषण नाराबाजी र होहल्ला गरेका थिए। यसअघि भदौ ९ गते पनि उनीहरूले दिनभर आन्दोलन गरेका थिए।
तनाव कम गर्न र मानसिक रूपमा शान्त बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी उपरीक्षक कचित कटुवाललगायतको टोली ध्यान शिविर सञ्चालनका लागि कारागार पुगे पनि कैदीबन्दीले गेट बन्द गरेर प्रवेश गर्न दिएका थिएनन्। कारागार प्रशासनसँगको टकरावका क्रममा उनीहरूले कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीसँग भेट्न पाउनुपर्ने माग अघि सार्दै आएका छन्। सुरक्षा अधिकारीहरू भने यसको पछाडि कारागारभित्रको आर्थिक तथा प्रशासनिक वर्चस्व कायम राख्ने स्वार्थ रहेको विश्लेषण गर्छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कारागारलाई दण्ड दिने ठाउँभन्दा सुधार गृहका रूपमा विकास गर्ने रणनीतिमा रहेको बताउँछन्। केही व्यक्तिको उदण्डताका कारण समग्र कारागारको वातावरण प्रभावित हुन नदिने उनको भनाइ छ।
“हामी अरूले भनेको भरमा होइन, आफ्नै मोडालिटीमा कारागारको अनुगमन गर्छौँ,” प्रजिअ कट्टेलले भने, “कारागारभित्र आन्तरिक द्वन्द्व बढाउने हाम्रो चाहना छैन। तर, केही व्यक्तिका कारण समग्र वातावरण बिग्रन दिँदैनौँ।” उनले लामो समयदेखि हुन नसकेको कारागारको खानतलासीलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
अवस्था नियन्त्रणमा लिन र आन्तरिक सुरक्षा सुदृढ बनाउन कारागार प्रशासन र सुरक्षा निकायले जुनसुकै बेला कडा कदम चाल्न सक्ने देखिएको छ।
