काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै थुनेर राखिनु अति नै गम्भीर विषय भएको बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले देशको एउटा संवैधानिक निकायको प्रमुखलाई नै प्रधानमन्त्री कार्यालय वा निवासभित्र नियन्त्रणमा राख्ने स्थिति आउनुले राज्य संयन्त्रको कार्यशैलीमाथि ठूलो प्रश्नचिह्न खडा गरेको टिप्पणी गरे।
बैठकमा बोल्दै सभापति लामिछानेले अख्तियारजस्तो स्वायत्त र शक्तिशाली निकायका प्रमुखमाथि बालुवाटारमै त्यस्तो व्यवहार हुनु सामान्य घटना नभएकाले यसले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने बताए।
उनले उक्त घटना के-कस्तो परिस्थितिमा र किन भयो भन्नेबारे सरकारले तत्काल निष्पक्ष छानबिन गरी संसद्लाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरे। साथै, राज्यका शक्ति केन्द्रहरूबाट संवैधानिक निकायहरूलाई दबाब वा प्रभावमा पार्ने प्रयास अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
यस किसिमको घटनाले कानुनको शासन र संवैधानिक व्यवस्थामाथि नै गम्भीर आघात पुर्याएको उल्लेख गर्दै लामिछानेले उक्त विषयमा संसदीय समिति र सरकार दुवैको गम्भीर ध्यानाकर्षण गराएका छन्।
