Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच भेट, के–के विषयमा भयो छलफल ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | साँझ ४:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल र भारतबीचको सैन्य सम्बन्धलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

बिज्ञापन

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष सेठ आइतबार काठमाडौँ आएका थिए। पाँच सदस्यीय भ्रमण टोलीमा उनकी श्रीमती कोमल सेठ पनि सहभागी छन्।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक–अर्को देशको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

त्यस अवसरमा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए। उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका थिए।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।

सेनाध्यक्ष सेठ बुधबार भारत फर्कने कार्यक्रम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa