विराटनगर | एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण अवलोकन गर्न बुधबार स्पेनसहित पोर्चुगल, आइसल्यान्ड र अन्य क्षेत्रबाट लाखौँ मानिस भेला भए।
चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्दा केही समय दिनमै अँध्यारो छाएको थियो। दुर्लभ खगोलीय घटना हेर्न स्पेनमा करिब पाँच लाख अतिरिक्त पर्यटक आउने अनुमान गरिएको थियो भने सरकारले सुरक्षाका लागि ३३ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो।
ग्रहणका कारण उत्तरी स्पेन र आइसल्यान्डका होटल तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको थियो। आइसल्यान्डमा सन् १९५४ पछि पहिलोपटक खग्रास सूर्यग्रहण देखिएको हो। बादल र वर्षाका कारण केही क्षेत्रमा दृश्य स्पष्ट नदेखिए पनि अँध्यारो छाउँदा सर्वसाधारणले उत्साहपूर्वक स्वागत गरेका थिए।
सूर्यग्रहण हेर्न विशेष सुरक्षा चश्माको मागसमेत बढेको थियो। वैज्ञानिक घटनासँगै यसले पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय प्रभाव पारेको थियो।
