काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा तथा पूर्वरास्वपा नेता सन्तोष परियारलगायतले गठन गरेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) विभाजित भएको छ।
यसअघि नै सुदन किराँती र ओजस्वी भट्टराई लगायतका शीर्ष नेताहरू अलग भइसकेको यस पार्टीका बाँकी नेताहरू पनि अन्ततः फुट्न पुगेका हुन्। सहमतिअनुसार अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार छुट्टिने निर्णयमा पुगेका छन्।
भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ पुनः ब्युँताइएको छ, जसको नेतृत्व दुर्गा सोबले गर्नेछन्। यस पार्टीको चुनाव चिह्न ‘आँखा’ नै रहने तय भएको छ।
अर्कोतर्फ, सन्तोष परियारको नेतृत्वमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) कायमै रहनेछ। उक्त पार्टीका लागि ‘आँखा’बाहेक तीन रङ समावेश भएको नयाँ चुनाव चिह्न चयन गर्ने गरी कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ।
