नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित अमरोहा जिल्लाको हसनपुर क्षेत्रमा तीन दिदीबहिनीले एउटै युवकसँग विवाह गरेको अनौठो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद उत्पन्न भएको छ ।
बाल्यकालदेखि सँगै हुर्किएका तीन दिदीबहिनीले भविष्यमा पनि एकअर्काबाट अलग हुन नचाहेको भन्दै एउटै युवकसँग विवाह गरेका हुन् । उनीहरूले स्थानीय चामुण्डा मन्दिरमा अग्निलाई साक्षी राखेर विवाह गरेका थिए । विवाहको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना चर्चामा आएको हो ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अमरोहाको धौरिया गाउँका किसान रमेशका छोरीहरू सरोज, सावित्री र सन्तोष सामाजिक सञ्जालमा भिडियो सामग्री बनाउने गर्छन् । उनीहरूमध्ये दुई जना सगी दिदीबहिनी हुन् भने एक जना काकाकी छोरी हुन् ।
सरोज बीटेक दोस्रो वर्षमा अध्ययनरत छन् भने सावित्री र सन्तोषले कक्षा १२ उत्तीर्ण गरेका छन् । उनीहरू इन्स्टाग्राम र फेसबुकमा नियमित रूपमा भिडियो सामग्री पोस्ट गर्छन् र सामाजिक सञ्जालमा उनीहरूको राम्रो फ्यान फलोइङ रहेको बताइएको छ ।
तीनै जनासँग विवाह गर्ने युवक श्यामपुरी गाउँका विकास उर्फ ‘विक्कू’ हुन् । उनी विगत ६ महिनादेखि तीनै दिदीबहिनीका लागि क्यामेराम्यानका रूपमा काम गर्दै आएका थिए । उनीहरूले बनाउने भिडियोमा विक्कूले श्रीमान्को भूमिकासमेत निर्वाह गर्ने गरेको समाचारमा उल्लेख छ ।
१८ वर्षीय विक्कूले यसै वर्ष कक्षा १२ उत्तीर्ण गरेका हुन् । उनी तीन दाजुभाइमध्ये कान्छा हुन् ।
तीनै दिदीबहिनीका अनुसार उनीहरू सानैदेखि सँगै हुर्किएका थिए र भविष्यमा पनि कहिल्यै अलग हुन चाहँदैनथे । बुवाले उनीहरूको विवाह फरक–फरक परिवारमा गरिदिने तयारी गरेपछि आफूहरू सँगै रहन सक्ने उपाय खोज्न थालेको उनीहरूले बताएका छन् ।
उनीहरूका अनुसार सुरुमा तीनै जनाले तीन जना सगे दाजुभाइसँग विवाह गर्ने सोच बनाएका थिए । तर त्यस्तो जोडी फेला नपरेपछि उनीहरूले अलग–अलग घरमा विवाह गरेर जानुभन्दा एउटै निर्णय गर्ने निष्कर्षमा पुगे ।
त्यसपछि उनीहरूले आफ्नै क्यामेराम्यान विक्कूसँग विवाहको प्रस्ताव राखेका थिए । विक्कूले उनीहरूको भावना र परिस्थितिलाई स्वीकार गरेपछि तीनै दिदीबहिनीले परिवार र आफन्तलाई जानकारी नदिई जुलाई १५/१७ मा चामुण्डा देवी मन्दिरमा विवाह गरेको समाचारमा जनाइएको छ ।
विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दू धार्मिक संगठनहरूले भने यसको कडा विरोध गरेका छन् । धार्मिक स्थलमा एउटै पुरुषसँग तीन महिलाले विवाह गर्नु सनातन परम्परा, धार्मिक मर्यादा र सामाजिक मान्यताविपरीत भएको उनीहरूको तर्क छ ।
विरोध बढेपछि तीनै दिदीबहिनीले पति विक्कूसँगै बसेर करिब ६ मिनेट लामो अर्को भिडियो सार्वजनिक गर्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।
उनीहरूले प्राचीनकालमा राजा दशरथका तीन जना रानी रहेको उदाहरण दिँदै आफूहरूले कुनै गलत काम नगरेको दाबी गरेका छन् । उनीहरूको भनाइ छ, ‘हामी तीनै जना बालिग छौँ र आफ्नै इच्छाले एकसाथ खुसी छौँ भने अरूलाई समस्या किन ?’
यस विषयमा युवतीका परिवारजनले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
हसनपुर कोतवालीका इन्चार्ज राजेश कुमार तिवारीका अनुसार विवाह गर्ने युवतीहरूले आफूहरू बालिग रहेको र आफ्नै इच्छाले चामुण्डा मन्दिरमा विवाह गरेको बताएका छन् । यता, प्रहरीका अर्का अधिकारी (सीओ) पंकज कुमार त्यागीले भने यससम्बन्धी कुनै आधिकारिक उजुरी वा मुद्दा हालसम्म दर्ता नभएको जानकारी दिएका छन् ।
