काठमाडौँ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आर्थिक विधेयक, २०८० को व्यवस्था बमोजिम विभिन्न क्षेत्रमा लाग्ने नयाँ कर तथा शुल्कहरू असुल गर्नका लागि नयाँ बीजक (बिल) को ढाँचा तोकेको छ।
विभागले साउन १ गतेदेखि अनिवार्य रूपमा नयाँ ढाँचा अनुसारका बीजकहरू प्रयोगमा ल्याउनुपर्ने सार्वजनिक सूचना जारी गरेको छ।
नयाँ व्यवस्था अनुसार पाँच तारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टहरू, निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरू, स्वास्थ्य सेवा प्रदायक संस्थाहरू र सुनचाँदी व्यवसायहरूले उपभोक्ता वा ग्राहकबाट रकम असुल गर्दा विभागले तोकेको निर्दिष्ट ढाँचामा नै बीजक जारी गर्नुपर्नेछ।
१. होटल तथा रिसोर्ट र आयातित मदिरामा ‘विलासिता शुल्क’
आर्थिक विधेयक, २०८० को दफा १३ बमोजिम नेपालमा उपभोग हुने पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्री मूल्यमा र आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्तःशुल्क सहितको मूल्यमा २ प्रतिशत विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको छ। यसका लागि विभागले छुट्टै बीजकको ढाँचा तय गरेको छ, जसमा २ प्रतिशत विलासिता शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भृयाट) स्पष्ट रूपमा खुलाउनुपर्नेछ।
२. निजी विद्यालय र कलेजहरूमा ‘शिक्षा समता शुल्क’
विधेयकको दफा १६ बमोजिम निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाइने भएको छ। निजी विद्यालय तथा कलेजहरूले बीजक जारी गर्दा ३ प्रतिशत शिक्षा समता शुल्क रकम छुट्टै कोठामा उल्लेख गरी जम्मा रकम गणना गर्नुपर्ने ढाँचा अनिवार्य गरिएको छ।
३. निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा ‘स्वास्थ्य समता शुल्क’
विधेयकको दफा १७ अनुसार निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरू (अस्पताल, क्लिनिक, प्रयोगशाला आदि) ले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा
३ प्रतिशत स्वास्थ्य समता शुल्क असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ स्वीकृत बीजकको ढाँचामा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नम्बर र भुक्तानीको तरिका सहित ३ प्रतिशत शुल्कको स्पष्ट हिसाब देखाइनुपर्छ।
४. सुनचाँदी र गरगहना बिक्रीमा ‘सिप प्रवर्द्धन शुल्क’
आर्थिक विधेयक, २०८० को दफा १४ बमोजिम नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरूको बिक्री गर्दा त्यस्तो बिक्रीमा सिप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। यसको बीजकको ढाँचामा एच.एस. कोड, तौल, जर्ति, जम्मा तौल/परिमाण, र तोकिए बमोजिमको (०.५ प्रतिशत वा १.३ प्रतिशत) शुल्क तथा कर लाग्ने मूल्य स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, विक्रेताले लिने ज्याला समेत सामानको विवरणको महलमा अनिवार्य उल्लेख गर्नुपर्नेछ।
व्यवसायीहरूका लागि महत्त्वपूर्ण जानकारी
यो व्यवस्था संवत् २०८० साल साउन १ गते देखि पूर्ण रूपमा लागू भइसकेको छ।
सबै बीजकहरूमा भुक्तानीको तरिका (नगद, चेक, उधारो वा अन्य) स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
तोकिएको ढाँचा भन्दा फरक तरिकाले बिल जारी गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन सक्ने विभागले जनाएको छ।





