विराटनगर। लायन्स क्लब अफ विराटनगर शुभमले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको अध्यक्षमा समाजसेवी शारदा दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
सोमबार आयोजित पदभार हस्तान्तरण समारोहमा निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो। कार्यक्रममा लायन्स आन्दोलनका आदर्श, सामाजिक उत्तरदायित्व तथा आगामी कार्ययोजनाबारे समेत छलफल भएको थियो।
पदभार ग्रहणपछि अध्यक्ष दाहालले आफ्नो कार्यकाललाई निस्वार्थ सामाजिक सेवामा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजका विपन्न, असहाय तथा आवश्यकतामा परेका समुदायका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
निवर्तमान अध्यक्ष बिन्दु लाखेले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै सेवा, समर्पण र मानवीय मूल्यलाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, नयाँ कार्यसमितिको नेतृत्वमा पहिलो सेवामूलक कार्यक्रमस्वरूप आज लायन्स क्लब अफ विराटनगर शुभम र लायन्स क्लब अफ विराटश्रीको संयुक्त आयोजनामा र उपाध्यक्ष लायन बिमला थापाको संयोजकत्वमा विराटनगर मेडिकल कलेजमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
क्लबले आगामी दिनमा पनि यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


