चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।
प्रधानमन्त्री शाह बुधबार चितवनको भरतपुर विमानस्थलबाट परिवारका सदस्य र राजनीतिक सल्लाहकारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।
रास्वपाको महाधिवेशन भरतपुरमा चलिरहेको छ। महाधिवेशनको पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्ने कार्यतालिका थियो। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। लामिछानेको सभापति उम्मेदवारीका प्रस्तावक प्रधानमन्त्री शाह थिए।
केन्द्रीय सदस्यका ९९ पदका लागि भने करिब ४ सय जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य चयनका लागि आज दिउँसो विद्युतीय मतदान गर्ने तयारी छ। केन्द्रीय सदस्य निर्वाचित भएपछि दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने रास्वपाले जनाएको छ।
महाधिवेशन लम्बिने भएपछि प्रधानमन्त्री शाह काठमाडौं फर्किएको बताइएको छ। उनलाई रास्वपाको वरिष्ठ नेताका रूपमा मनोनयन गर्ने तयारी रहेको छ।
भरतपुर विमानस्थलमा प्रधानमन्त्री शाहले भीआईपी कक्ष प्रयोग नगरेको बताइएको छ। उनीसँगै श्रीमती, छोरी र राजनीतिक सल्लाहकार कुमार बेनलगायत रहेका थिए।
रास्वपाले असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने तय गरेको थियो। प्रतिनिधि व्यवस्थापनलगायतका विषय टुंग्याउन समय लागेपछि महाधिवेशन निर्धारित समयभन्दा केही दिन लम्बिने भएको हो।


