काठमाडौं । देशका केही भूभागमा आज मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने केही तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्र र कोसी प्रदेशको तराईमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, कोसी प्रदेशका तराईका केही स्थान र मधेस, वाग्मती तथा गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको विभागले जनाएको छ। वाग्मती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने अनुमान गरिएको छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोसी प्रदेशको तराईमा सामान्य बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने विभागको भनाइ छ।
राति पनि कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। साथै, कोसी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
हाल देशका कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।


