चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन दोस्रो दिन प्रवेश गरेको छ। आज बन्दसत्र चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ।
बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको उपस्थिति र नास्ताका कारण केही ढिला हुन सक्ने देखिएको छ। बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, संगठनात्मक तथा राजनीतिक प्रतिवेदन, तथा आर्थिक प्रतिवेदनहरू प्रस्तुत गरिनेछ।
यसैबीच निर्वाचन प्रक्रिया पनि अघि बढाइनेछ। पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार आज दिउँसो १ बजेदेखि मात्र औपचारिक निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ।
बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। सर्वसम्मत रूपमा वर्तमान सभापति रवि लामिछाने लाई नै निरन्तरता दिने तयारी भए पनि निर्वाचन आयोगले भने औपचारिक निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली बिहान १० बजे प्रकाशन हुनेछ। १ बजे उम्मेदवारी मनोनयन फारम वितरण गरिनेछ भने २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको छ।
त्यसपछि राति ८ बजे प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। दाबी–विरोध जाँचका लागि एक घण्टा समय दिइनेछ। राति ९ बजेदेखि १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था छ। राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
भोलिपल्ट बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान हुनेछ। मतदान सकिएको दुई घण्टाभित्र परिणाम सार्वजनिक गरिनेछ।
त्यसपछि अन्य पदाधिकारीका लागि दोस्रो चरणको मतदान हुनेछ, जसको विस्तृत तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।


