






काठमाडौं । नेप्से सूचक बुधबार १७.४४ विन्दुले बढेर २६९३.०६ अंकमा आएको छ । ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बैंकिङ समूहमा केही उत्साह देखिएको छ । यो समूह बढ्दा समग्र नेप्से सूचकमा सकारात्मक प्रभाव परेको हो ।
कारोबारको अधिकांश समय सुस्त रहेको बजार अन्तिम प्रहरमा सकारात्मक भएको हो । बजेटमा विपक्षी दलहरुले अवरोध गर्छन् कि भन्ने आशंकामा पनि बजार केही सुस्त बनेको थियो । तर विपक्षीहरुले बजेट ल्याउन अवरोध नगर्ने बताएका छन् । यसको सकारात्मक प्रभाव पनि बजारमा परेको देखिन्छ ।
अर्थमन्त्रीले बिहीबार संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन् । बजेटमार्फत सेयर बजारका विषयहरुमा पनि सम्बोधन हुने अपेक्षा गरिएको छ । अझ पुँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता दिनेलगायतका विषय पनि बजेटमा आउने भन्दै लगानीकर्ता आशावादी बनेका छन् ।
पुँजीगत लाभकर नै अन्तिम कर हुने व्यवस्था गरिएमा त्यो पुँजी बजार विस्तार र विकासका लागि ‘माइलस्टोन’ हुने जानकारहरु बताउँछन् । किनभने हाम्रो पुँजी बजारमा जहिले पनि करको आतंक मच्चिने गरेको छ । बजार अलिकति बढ्न लाग्यो कि करका विवादस्पद कुराहरु उठाइने र त्यसबाट समग्र सेयर बजारलाई नै बिच्क्याउने प्रवृत्ति विगतदेखि नै चल्दैआएको छ ।
यसलाई सधैंका लागि अन्त्य गर्न नै लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई नै अन्तिम करको कानुनी मान्यता दिन माग गरेका छन् । यस्तो व्यवस्था भएमा अलिकति करका दर बढे पनि आपत्ति नहुने लगानीकर्ताले बताउँदै आएका छन् ।
यी विषय बजेटमा सम्बोधन भयो भने यसले पक्कै पनि बजारलाई नयाँ गन्तव्यमा पुर्याउन सहयोग पुर्याउने देखिन्छ । यी बाहेक सुधारका अरु पनि विषय समेटिन सक्यो भने त्यो पुँजी बजारका लागि निकै सकारात्मक कुरा हुन सक्नेछ । यसकारण पनि अहिले अधिकांश लगानीकर्ताहरुले बजेटलाई नै कुरेको देखिन्छ ।
यस्तै, केन्द्रीय बैंकले पनि धेरै नीतिगत बाधाहरुलाई फुकाइसकेको छ । सेयर धितो कर्जामा कायम जोखिमभार घटाइएको छ । यसले दीर्घकालमा बजार सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् ।
नेप्से सूचक महिनौंदेखि साइडवेजमा छ । अहिलेको तहबाट बजार खासै तल झर्न नमानेकाले यसले माथितिरकै यात्रा तय गर्न खोजेको देखिन्छ । तर यसका लागि थप केही सकारात्मक कुराहरु आवश्यक देखिएको छ । बजारमा सेयरको माग बढाउने, सहज कर्जा लिन सक्ने थप संयन्त्रहरु विकास गर्न आवश्यक देखिएको छ ।
त्यसो त केन्द्रीय बैंकले धेरै कुराहरुमा सहजीकरण गरिसकेको छ । अब १५ करोडको क्याप हटाउने र बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबार खुला गरियो भने यसअघि कसिएका सबै नीििनयम ठीक ठाउँमा आउने देखिन्छ । यस्तै, अर्थ मन्त्रालयले पुँजीगत लाभकरलाई अन्तिम करको कानुनी मान्यता दिएमा यो समस्या पनि सधैैंका लागि समाधान भएर जानेछ ।
यसबाट बजारमा आम लगानीकर्ताको मनोबल उच्च बन्न सक्ने देखिन्छ । लामो समय साइडवेजमा बसेको बजार अघि बढ्नका लागि सजिलो हुने लगानीकर्ताहरु बताउँछन् । बजारमा माग पक्ष बढाउनका लागि नयाँ लगानीकर्ता भित्रिनुपर्छ । लगानीकर्ताको मनोबल उच्च हुने कार्यक्रम आउनुपर्छ । संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुन जरुरी देखिन्छ ।
यस दिन ३ सय २३ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी परेका छन् ।