विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूको भेला सुरु भएको छ।
विराटनगरस्थित बिग होटलमा भइरहेको छलफलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला प्रमुख अतिथिका रूपमा सहभागी छन् भने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने उपस्थित छैनन्।
बैठकमा नेता मीन विश्वकर्मा, कोशी प्रदेशका प्रदेश तथा जिल्ला तहका नेताहरू सहभागी रहेका छन्। विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरू सहभागी उक्त भेलामा क्रियाशील सदस्यता नवीकरण, विशेष महाधिवेशन तथा निर्वाचनपछिको पार्टीको अवस्था लगायतका विषयमा समीक्षा भइरहेको बताइएको छ।
एक सहभागी नेताका अनुसार महाधिवेशनको सान्दर्भिकता र आगामी रणनीतिबारे समेत छलफल भइरहेको छ।
भेलामा कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, सीता देवकोटा लगायतका नेताहरू सहभागी छन्। साथै नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईसहित ६ जना प्रदेश सांसदहरूको पनि उपस्थिति रहेको छ।
प्रदेश सांसदहरू सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ, खगेश्वरी पौडेल तथा प्रदेश पर्यटन मन्त्री भीम पराजुली पनि बैठकमा सहभागी छन्। मन्त्री पराजुलीका अनुसार विशेष महाधिवेशनपछिको राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल केन्द्रित रहेको छ।
