Premier Cables
Premier Steel

समाचार

गृहमन्त्रीको राजीनामासंगै शेयर बजारमा हरियाली

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०९, २०८३  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङको राजीनाको प्रभाव सेयरबजारमा देखिएको छ । कारोबारको अन्तिम प्रहरतिर आएको गृहमन्त्रीको राजीनामाको खबरपछि दोहोरो अंकले घटिरहेको सेयरबजार अन्तिममा आएर सामान्य अंकको गिरावटमा सीमित बनेको छ ।

उक्त खबरपछि सेयरबजारमा अन्तिम समयमा सेयर खरिद बढ्न पुग्यो । यसलाई आजको कारोबारले समेत पृष्टि गरेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोड बढीको कारोबार भएकोमा आज भने ७ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको छ ।

बिज्ञापन

गृहमन्त्रीमा नियुक्ती भएसँगै गुरुङले ठूला व्यवसायी तथा लगानीकर्तामाथि गरेको धरपकडका कारण लगानीकर्ताको मनोबल खस्किएको थियो । जसका कारण बजारको सेन्टिमेन्ट नेगेटिभ बन्दा सेयरबजारमा दबाब परेको थियो ।

जसपश्चात लगानीकर्ताले उनको राजीनामा माग समेत गर्दै आईरहेका थिए ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१० प्रतिशत अर्थात् २.९५ अंकले घटेर २ हजार ८०४.१७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले बढेर ४७१.२२ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।

बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘सरकारको क्रियाकलाप वा गतिविधिका कारण केही दिनसम्म बजारमा करेक्सन फेज चलिरहेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान वा निजी क्षेत्रका व्यवसायीमाथि गरिएको छानबिन वा अनुसन्धानले बजारलाई प्रभाव पारेको थियो । आज बजार केही समयसम्म घटेको थियो तर अन्तिमसम्म नेप्से सूचक लभगभ ३ अंकले मात्रै घटेको छ ।

सेयरबजारमा लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रत्यक्ष प्रभाव पार्ने हुँदा गृहमन्त्री सुधन गुरुङले राजिनामा दिएका कारण बजारमा बाउन्स ब्याक देखिएको हो की अनुमान लगाउन सकिन्छ । साथै स्थिर सरकार आएपनि बजारका लागि स्थिर पोलिसीहरु के छन् भन्ने नखुलेका कारण लगानीकर्ताहरुमा उत्साहपन देखिएको छैन ।’

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि ठूला लगानीकर्ताहरु यतिबेला बजारमा सक्रिय नहुँदा सिँगो पूँजीबजारलाई नै असर पारेको बताए ।

‘सेयरबजारमा धेरै प्रकारको लगानीकर्ता छन्, अहिलेको सरकारले निजी क्षेत्रका व्यवसायीमाथि छानबिन गर्ने विषयले लगानीकर्तामा अन्योलता सिर्जना गरेको छ र लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्’ उनले भने, ‘ठूला सेयर लगानीकर्ताहरु बजारमा सक्रिय नहुँदा बिग मनि नआएकाले बजारले लय लिन सकिरहेको छैन जसकारण पछिल्लो समय कारोबार रकम पनि घटिरहेको छ ।’

साथै लगानीकर्ताहरु आगामी आवको बजेटको प्रतिक्षामा रहेको उनको भनाई छ । ‘अहिले लगानीकर्ताहरु सेयर किन्ने अवस्थामा पनि छैनन्, लगानी गर्दा झनै गुमाइन्छ कि भन्ने लगानीकर्तामा डर छ’ उनले भने, ‘राजनीतिक माहोल वा पछिल्लो सरकारको गतिविधिका कारण सेयरबजार नै उथुलपुथुल भएको छ, तर लगानीकर्ताहरु डराउने वा प्यानिक नै हुने अवस्था पनि छैन, अहिले अफ सिजन भएका कारण पनि बजारमा उत्साह नदेखिएको हो ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka