विराटनगर । विराटनगरमा शनिबार सभामुख डीपी अर्यालको आगमनअघि सडक व्यवस्थापनका क्रममा सर्वसाधारणले असहजता भोग्नुपरेको छ।
सरकारले भिआइपी सवारीका बेला नागरिकलाई दुःख नदिने नीति लिएको दाबी गरे पनि व्यवहारमा भने फरक दृश्य देखिएको हो।
अपराह्न साढे ४ बजे विमानबाट अर्याल विराटनगर आउने कार्यक्रम तय थियो। त्यसअघि नै विमानस्थलदेखि कोशी राजमार्गसम्मको सडक खाली गराइयो। सडक छेउमा पार्किङ गरिएका सवारी साधन हटाउन सुरक्षाकर्मीले सर्वसाधारणलाई हतार–हतार निर्देशन दिएका थिए।
केहीले नजिकैका होटलतर्फ गाडी सारेर व्यवस्थापन गरे भने केहीले ‘भिआइपी सवारी सामान्य रूपमा गर्ने भनिएको होइन र?’ भन्दै प्रहरीसँग प्रश्न उठाए। तर सुरक्षाकर्मीले माथिको आदेश भन्दै सवारी नहटाए ‘लक लगाइने’ चेतावनी दिएका थिए। फिल्डमा खटिएका प्रहरीले आफूहरूलाई ‘रोड क्लियर’ गराउने निर्देशन आएको बताएका छन्।
एयरपोर्ट रोडसँगै कोशी राजमार्गमा पनि कडाइ गरिएको थियो। सभामुख अर्याल विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका हुन्।
आज(शनिबार) प्रतियोगिताको फाइनल खेल समेत हुँदैछ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अर्याल सवार विमान साढे ४ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो।
