जनआन्दोलनमा भत्काइएको पूर्वराजा महेन्द्रको सालिक
विराटनगर । विराटनगरको महेन्द्र चोकमा सालिक स्थापना गर्न एउटा समूह सक्रिय भएको छ ।
त्यहाँ रहेको पूर्वराजा महेन्द्र शाहको सालिक जनआन्दोलनका क्रममा भत्काएर फ्याँकिएको थियो । चोकको नाम जनआन्दोलन चोक राखिएपनि अहिलेसम्म पनि सर्वसाधारणले महेन्द्र चोक नै भन्ने गरेका छन् ।
सनातन युवा मंच नामक एउटा संस्थाले सालिक स्थापना गर्ने विषयमा बिहीबार (आज) नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा ११ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । नेपालबाट राजसंस्था अन्त्य भएको लामो समय भईसकेको छ ।
विभिन्न आन्दोलनका क्रममा देशभर विभिन्न सालिकहरु भत्काइएको दृष्टान्त छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागबाट राजनीतिक र अन्य क्षेत्रका व्यक्तित्वको सालिक भत्काइएको थियो । मधेश आन्दोलनका क्रममा पनि यस्ता कृयाकलाप भएका थिए ।
सालिक भत्काएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले भित्तामा महेन्द्रको फोटो टाँसेर उनको स्मृति दिवस मनाउने गरेका थिए । अहिले त्यहाँ राष्ट्रिय झन्डा राखिएको छ ।
