रौतहट-१ बाट रास्वपाका राजेशकुमार चौधरी विजयी, माधवकुमार नेपाल चौथो स्थानमा
शनिबार, फाल्गुण २३, २०८२ |
अपराह्न ३:४१ बजे
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशकुमार चौधरी विजयी भएका छन्।
शनिबार (फागुन २३) दिउँसो सम्पन्न मतगणनाअनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए। पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल भने ७ हजार ६६९ मतसहित चौथो स्थानमा सीमित भएका छन्।
निर्वाचन आयोगका अनुसार नेपाल यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि पराजित भएका थिए। त्यसबाहेक उनले यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए।