विराटनगर । प्रारम्भि अवस्थामा प्रदेशका संरचना थिएनन् । पहिलो कार्यकालमा भौतिक पूर्वाधार, कानुन र अन्य संरचना अभावबीच पनि प्रदेश सरकारको काम जनताले सम्झने लायकका थिए ।
पहिलो कार्यकालमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेका एमाले नेता जीवन घिमिरेले प्रदेशको विकासका केही राम्रा र उदाहरणीय काम गर्न सफल भए । उनले विकासको जग बसाउन महत्वपूर्ण योगदान पनि गरे । आगामी प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट चुनाव चिन्ह सूर्यका साथमा उनी चुनावी मैदानमा छन् ।
सहिद रंगशालामा फ्लडलाइटको उज्यालो

पाँच वर्षअघि काठमाडौं बाहिरका रंगशालामा फ्लडलाइट जडान भएर रात्रिकालीन खेल हुने कल्पना धेरैका लागि सपनामै सीमित थियो। राष्ट्रिय खेलकुदको केन्द्र मानिने दशरथ रंगशालाबाहेक अन्य स्थानमा आधुनिक पूर्वाधार विस्तार होला भन्ने अपेक्षा कमै थियो। तर समय बदलियो, सोच बदलियो। यही परिवर्तनको प्रतीक बनेको छ विराटनगरस्थित सहिद रंगशाला।
दशरथ रंगशालापछि पहिलो पटक सहिद रंगशालामा फ्लडलाइट जडान भयो । यो हुनु केवल भौतिक संरचनाको विकास मात्र थिएन, यो विराटनगरको खेल संस्कृतिमा आएको ऐतिहासिक मोड पनि थियो। कोशी प्रदेश सरकारका तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेको दूरदर्शी सोच र योजनाबाट सम्भव भएको यो परियोजनाले रात्रिकालीन खेलकुदका लागि नयाँ ढोका खोलिदियो। बाँसमा बत्ती ठड्याएर खेल खेल्नुपर्ने बाध्यता अन्त्य भयो, र खेलाडी तथा दर्शक दुवैले आधुनिक सुविधाको अनुभूति गर्न थाले।
आज विराट गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगिता फ्लडलाइटको उज्यालोमा सञ्चालन भइरहेका छन्। यो सबै पूर्वमन्त्री जीवन घिमिरेको योजना र योगदानबाट सम्भव भएको हो । व्यस्त जीवनशैली र फागुन–चैतको चर्को गर्मीमा दिउँसो खेल प्रतियोगिता गर्न विराटनगरमा असम्भव नै थियो ।
विराटनगरबासीका लागि रात्रिकालीन खेल वरदान सावित भएको छ । यसले फुटबलको व्यवसायिक विकासमा मात्र होइन, शहरको सामाजिक जीवनमा समेत नयाँ ऊर्जा थपेको छ। दूरदृष्टि नेतृत्वको सही निर्णयले सर्वसाधारणको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छ भन्ने यो उदाहरण आफैंमा दर्बिलो प्रमाण हो।
महामारीमै बनाए कोभिड अस्पताल

मुलुक कोरोनाको भयावह कहरमा थियो। सडक सुनसान थिए, मानिसहरू घरभित्र थुनिएका थिए । अनिश्चितता र त्रासले सबैलाई गाँजेको त्यो समय भविष्य के होला भन्ने चिन्ताले भरिएको थियो। यही संकटको घडीमा तत्कालीन कोशी प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे अग्रपंक्तिमा उभिए । कोरोना महामारीकै बीच उनले विराटनगरमा कोभिड अस्पताल निर्माणको पहल गरे ।
पहिलो चरणमै उनी स्वयं कोरोना संक्रमित भए, जसले परिवारमा ठूलो त्रास सिर्जना गर्यो। तर संक्रमणलाई परास्त गरेपछि घिमिरे झनै दृढ भएर जनताको जीवन बचाउने अभियानमा सक्रिय बने ।
घिमिरेकै नेतृत्वमा १५ दिनभित्र अत्याधुनिक उपकरणसहितको कोरोना अस्पताल विराटनगरमा स्थापना भयो। विराटनगरबासी, स्थानीय उद्योगी–व्यवसायी र विदेशमा रहेका नेपालीको सहयोगमा भेन्टिलेटरयुक्त अस्पताल सञ्चालनमा आयो, जहाँ हजारौँ संक्रमितले उपचार पाए र धेरैको ज्यान जोगियो। काठमाडौं बाहिर पहिलो पटक यस्तो सुविधा सम्पन्न अस्पताल विराटनगरमा सञ्चालनमा आएको थियो। साथै, भारतलगायत बाह्य देशबाट आउने संक्रमितका लागि सीमावर्ती क्षेत्रमा देशकै पहिलो होल्डिङ सेन्टर घिमिरेकै पहलमा निर्माण भयो।
शौचालय सुधार अभियान

मन्त्री भएर शौचालय अनुगमनमा निस्किएको दृश्य धेरैका लागि अनौठो बन्यो। सामाजिक सञ्जाल र चोकचौतारामा टिकाटिप्पणी भए—“काम नभएर चर्पी हेर्न निस्किएछन्” भन्ने कटाक्ष पनि सुनियो। तर, कोशी प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे ती टिप्पणीले रोकिएनन्।
उनी सामुदायिक विद्यालय, अस्पताल, सार्वजनिक संस्थानदेखि सरकारी कार्यालयसम्मका शौचालय निरीक्षणमा निरन्तर खटिए। अनुगमन औपचारिकतामै सीमित रहेन। शौचालयको भौतिक अवस्था, सरसफाइ र व्यवस्थापन सुधार गर्न स्पष्ट निर्देशन दिइयो। कतिपय स्थानमा मन्त्री घिमिरे स्वयं सरसफाइमा जुटिएको दृश्यले धेरैलाई चकित बनायो।
दैनिक सयौँ सेवाग्राही र सर्वसाधारणले प्रयोग गर्ने शौचालयलाई केन्द्रमा राखेर सुरु गरिएको यो सफाइ अभियानले व्यापक चर्चा पायो। यसले सम्बन्धित निकायहरूमा सुधारको दबाब सिर्जना गर्यो। धेरै विद्यालय र कार्यालयहरूले शौचालय सफाइ तथा व्यवस्थापनलाई निरन्तरता दिए। आज पनि जीवन घिमिरेको पहलमा सुरु भएको शौचालय सफाइ अभियान व्यवहारिक र सकारात्मक परिवर्तनको उदाहरणका रूपमा देखिँदै आएको छ।
ज्येष्ठ नागरिक केन्द्र स्थापना
कोशी प्रदेशमा जीवन घिमिरे सामाजिक विकास मन्त्री हुँदा पाका उमेरका नागरिकहरू असाध्यै दंग थिए। कारण थियो—ज्येष्ठ नागरिक केन्द्र निर्माणको अभियान। सेवा सुविधामा मात्र सीमित नहुने, आत्मीयता र अपनत्वको अनुभूति गराउने उद्देश्यसहित सुरु गरिएको यो पहल पाका नागरिकका लागि वरदान सावित भयो।
विराटनगरमा निर्माण भएको ज्येष्ठ नागरिक केन्द्र अवकाश प्राप्त व्यक्तिहरूका लागि दिनभर भेला हुने थलो बन्यो। यहाँ गफगाफ, अनुभव साटासाट मात्र होइन, जन्मदिन मनाउने, पण्डितसहित पूजा–आजा गर्ने, प्रसाद वितरण गर्ने र नातिनातिनासमेत लिएर रमाइलो गर्ने वातावरण तयार भयो।
एक्लोपनले सताउने उमेरमा यस्तो केन्द्रले सामाजिक जीवनलाई पुनर्जीवित गरिदियो।
घिमिरेको नेतृत्वमा मोरङसहित कोशी प्रदेशका विभिन्न स्थानमा निर्माण गरिएका ज्येष्ठ नागरिक केन्द्रहरू आज पनि सक्रिय छन्। ती केन्द्रहरू पाका नागरिकका लागि केवल भवन होइनन्, हाँसो, सम्झना र आत्मसम्मान बाँड्ने साझा घर बनेका छन्। उमेरले थलिएका हातहरूलाई सम्मान र साथ दिन सकिन्छ भन्ने उदाहरणका रूपमा यी केन्द्रहरू उभिएका छन्।
