






हेटौंडा । मकवानपुरको हेटौंडामा दलदले भासमा एक्कासि भास्सिएको गाडी १९ दिनपछि फेला परेको छ ।
जमिनमुनि दबिएको गाडीको पार्टपुर्जा मंगलबार फेला परेपनि सग्लो गाडी भने नभेटिएको स्थानीयले बताएका छन् । यस सम्बन्धी भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जनप्रतिनिधिहरूले लगातार क्रेन र स्काभेटर लगाएर खन्ने र जमिन खोस्रने कार्य गर्दा गाडीका पाटपुर्जा भने फेला परेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा दौडदै गरेको जिप एक्कासि जमिन मुनि पुगेको थियो । वैशाख १९ गते ना ४ च ४८३३ नं. को माछा बोक्ने गाडी अचानक जमिनमुनि भासिएपछि चालक र सहचालकले गाडीबाट हामफालेर ज्यान जोगाएका थिए ।
गाडी खोजी गर्न स्थानीय र प्रहरी परिचालन गरिएको थियो । यसका पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताएका छन् ।
यसबारे अध्ययन गर्न गत बैसाख २३ गते र जेठ २ गते भूगर्भ शास्त्र केन्द्रीय विभाग काठमाडौंको टोली मकवानपुर पुगेको थियो । अधिकांश स्थानमा बोरिङ गरेर पानी निकालिएका कारण जमिन दबिन पुगेको प्रारम्भिक निस्कर्ष निकालिएको थियो ।