विराटनगर । विराटनगरमा सडक किनारमा फेला परेको नवजात शिशुलाई प्रहरीले उद्धार गरी आमाको जिम्मा लगाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ ८ गते बिहान करिब ५ः४५ बजे विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयअगाडि सडक किनारमा करिब २/३ दिनको नवजात शिशु फेला परेको थियो। शिशुको नाभिसमेत काटिएको थिएन।
शिशु फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानसँगै शिशुको आमा तथा आफन्तको खोजी गर्ने क्रममा विराटनगर महानगरपालिका–१३ बस्ने २८ वर्षीया गितादेवी महत्तोको पहिचान गरेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी शिशुलाई आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
