Premier Cables
Premier Steel

कोशी प्रदेश

झापाका महिला उमेदवारः कडा छ प्रतिस्पर्धा

Calendar बिहिबार, माघ ०८, २०८२  | बिहान ११:२९ बजे

झापा । आगामी निर्वाचनमा झापाबाट सीमित संख्यामा उम्मेदवारी दिएका महिला उम्मेदवारहरूका लागि आफ्नो राजनीतिक शक्ति र क्षमता प्रमाणित गर्नु चुनौतीपूर्ण देखिएको छ।

कुल ९० जना उम्मेदवारमध्ये केवल १४ जना महिला उम्मेदवार रहेका छन्, जुन करिब १५ प्रतिशत मात्र हो। संख्या कम भए पनि महिला उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि, अनुभव र क्षमता पुरुष उम्मेदवारभन्दा कमजोर नरहेको विश्लेषण गरिएको छ।

झापा क्षेत्र नं. २ मा तीन जना प्रभावशाली महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसबाट पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाई र पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री धर्मशीला चापागाई उम्मेदवार बनेका छन्। यही क्षेत्रमा निवर्तमान सभामुख देवराज घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वागत नेपाल पनि मैदानमा छन्।

झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले नेकपा एमालेका सहकारी विज्ञ रामचन्द्र उप्रेती र नेपाली कांग्रेसका युवा नेता केशवराज पाण्डेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। डाँगी यसअघि समानुपातिकतर्फ सांसद रहेकी भए पनि प्रत्यक्ष निर्वाचनमा भने पहिलो पटक उम्मेदवार बनेकी हुन्।

झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसकी मन्धरा चिमरियालाई कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेका छन्।

यसपटक झापामा सात राजनीतिक दलबाट १३ जना महिला उम्मेदवार र दुई जना स्वतन्त्र महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। सबैभन्दा धेरै महिला उम्मेदवार झापा क्षेत्र नं. २ मा छन्, जहाँ पाँच दलबाट पाँच जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। अन्य क्षेत्रहरूमा पनि विभिन्न दलका महिला उम्मेदवारले भाग लिएका छन्।

अघिल्लो निर्वाचनमा झापाबाट कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेका थिएनन्। यसअघि २०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट नेकपा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् भने २०६४ सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट धर्मशीला चापागाई निर्वाचित भएकी थिइन्।

त्यसयता झापाबाट भएको संसदीय निर्वाचनमा महिलाको विजय दोहोरिन सकेको छैन।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka