विराटनगर । मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा आयोजना गर्दै आएको भजन–कीर्तन कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि भजन–कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।
विद्यालयको स्थापनाकालदेखि प्रत्येक वर्ष अविरल रूपमा सञ्चालन हुँदै आएको सरस्वती पूजा तथा भजन–कीर्तन कार्यक्रमलाई थप प्रभावकारी बनाउन २०७९ सालदेखि यसलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।
यस कार्यक्रममार्फत विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार, संस्कृति र नैतिकताको मानसिक तथा भावनात्मक विकास गराउने तथा समाजमा देखिँदै आएका विकृति–विसङ्गतिलाई सुधार, संरक्षण र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
यस वर्ष प्रतियोगिताका लागि प्रदान गरिने पुरस्कार राशि समेत वृद्धि गरिएको विद्यालयले जानकारी दिएको छ । जसअनुसार प्रथम पुरस्कार २५ हजार रुपैयाँ, द्वितीय पुरस्कार २० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार रुपैयाँ र सहभागी सबै टोलीलाई जनही ३ हजार ५ सय रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ । यस वर्ष कुल पुरस्कार राशि २ लाख २४ हजार ५ सय रुपैयाँ व्यवस्था गरिएको छ ।
गत वर्ष मोरङ र सुनसरी जिल्लाबाट ३९ टोली सहभागी भएकोमा यस वर्ष सहभागी टोलीको संख्या क्रमशः वृद्धि हुँदै गएको विद्यालयको भनाइ छ । हालसम्म दर्ता हुने क्रम जारी रहेकाले माघ ०६ गतेसम्मका लागि दर्ता म्याद थप गरिएको छ । यस वर्ष करिब ५० टोली सहभागी हुने अनुमान गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनसँगै सहभागी टोलीहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
भजन–कीर्तन प्रतियोगिता माघ ०९ गते शुक्रबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा दिउँसो २ बजेदेखि आयोजना गरिनेछ । विद्यालयको पूजनोत्सव समारोह भने बिहान ७:३० बजेदेखि सुरु हुने जनाइएको छ ।
पुरस्कार वितरण, कार्यक्रम सञ्चालन तथा सम्पूर्ण व्यवस्थापन विद्यालय व्यवस्थापन समिति तथा आयोजकद्वारा गरिनेछ । साथै, कार्यक्रमको दीर्घकालीन स्थायित्वका लागि चालु आर्थिक वर्षभित्र ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको र आगामी दिनमा उक्त कोषलाई क्रमशः वृद्धि गर्दै लैजाने विद्यालयले जनाएको छ ।
प्रेस विज्ञप्तिमा विद्यालयका तर्फबाट प्रिन्सिपल मोहन बुढायोंकीले हस्ताक्षर गर्नुभएको छ ।

