विराटनगर । माघे संक्रान्तिको सबैतिर रौनक शुरु हुँदैथियो । त्यहीबची बिहीबार बिहानै विराटनगरबाट मार्बल बोकेर एउटा ट्रक राजविराज तर्फ हुइँकियो ।
हुलाकी मार्ग हुँदै सुनसरीतर्फ बढ्दै गर्दा ट्रक अनियन्त्रित भई पल्टियो । यो घटनामा सुनसरीको बर्जु गाउँपालिकाको एउटै टोलका पाँच जनाको ज्यान गयो । सिंगो गाउँ नै शोकमा डुब्यो ।
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मालवाहक ट्रक बिहान करिब ५ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो । चालकसहित तीन जना घाइते भए ।
विराटनगरमा मार्बल लोड भयो । “जसरी पनि पुर्याउनु पर्छ” भन्ने बाध्यताले बर्जु गाउँपालिका–१ का एउटै गाउँका ८ दाजुभाइ ट्रक चढे।
मालवाहक सवारीको अगाडि चालकसहित बढीमा तीन जना मात्र बस्न मिल्ने ठाउँ थियो तर पाँच जना मजदुर मार्बलसँगै ट्रकको डालामा बसे । ट्रक सोनीयाही पुगेपछि अचानक अनियन्त्रित भई पल्टियो। अगाडि बसेका तीन जनाले सिसा फुटाएर जसोतसो निस्किए । तर, पछाडि बसेकाहरुलाई भने मार्बलले किच्यो । उनीहरु च्यापिएर छटपटाउँदै घटनास्थलमै बिते ।
घटनामा परी बर्जु गाउँपालिका १ का ३२ वर्षीय धिरेन्द्र गुरुङ,५५ वर्षीय बर्मदेश गुरुङ,५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र२८ वर्षीय निशु गुरुङको प्राण पखेरु उड्यो । सुन्दर गुरुङ, रामरुप गुरुङ र बैजनाथ गुरुङ घाइते भए । उनीहरुको विराटनगरस्थित विराट नर्सिङ होम, विराटनगरमा उपचार भइरहेको छ।
दुर्घटनाबाट बाँचेका सुन्दर गुरुङ सधैं पछाडि बसेर यात्रा गर्थे । तर घटना हुनुभन्दा अघिल्लो दिन पर्वको कारण “कतै नजाने होला” भन्ने सोचका थिए । उनकी श्रीमतीले ज्याकेट धुन भ्याइनन्। बिहान पुरानो ज्याकेट लगाएका सुन्दरले “आज अगाडि बस्छु, पछाडि त जाडो थेगिँदैन” भन्दै अघिल्लो सिट रोजे ।
“श्रीमतीले ज्याकेट धोएको र त्यो ज्याकेट दिएको भए म जिउँदो नहुने रहेछु,” उनले भने,‘‘मलाई मेरो पुरानो ज्याकेटले ज्यान बचायो ।’’ दौडिरहेको गाडी एकाएक पल्टिएको र आफूहरुले सिसा फुटाएर बाहिर निस्किएर ज्यान जोगाएको सुनाए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनापछि दिनभर तनावग्रस्त बनेको बर्जु अहिले पनि शोकमा डुबेको छ। घटनापछि रोयल मार्बल कम्पनीको तर्फबाट पीडित परिवार भेट्न कोही नआएको भन्दै स्थानीय र आफन्तले बिहीबार विराटनगरमा प्रदर्शन समेत गरे। स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत ढुंगामुढा गरे ।
