विराटनगर । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई-रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ।
बुधबार विराटनगरमा एक कार्यक्रम गर्दै विकल्पले सिटी सफारीको सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषयमा केन्द्रित रहेर अनुसन्धान पत्र सार्वजनिक गरेको हो।
अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समीर क्षेत्रीले नेपालको तराई क्षेत्रमा मात्रै झन्डै २ लाख भन्दा बढी सिटी सफारी सञ्चालनमा रहेको भन्दै अधिकांश सिटी सफारी चालकहरूको निम्न शैक्षिक अवस्थाका कारण सवारी अनुमति पत्र प्राप्त गर्न कठिन रहेको बताए ।
उनले कोशी प्रदेश सरकारले सिटी सफारी लाइसेन्स परीक्षामा लिखित परीक्षालाई हटाएर मौखिक तथा ट्राफिक नियम प्रशिक्षणको व्यवस्था गरेकोले लाइसेन्स प्रक्रिया सहज भएको धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई सिटी सफारीका लागि लाइसेन्स प्रक्रिया सहज बनाउनेदेखि आवश्यक कानून निर्माण र संशोधनमा पहलकदमी लिएकोमा सम्मान समेत गरिएको थियो।
सम्मान ग्रहण गर्दै भण्डारीले कोशी प्रदेशमा सिटी सफारी सञ्चालन गर्ने र सोको कमाईमा आस्रित जनसङ्ख्या ठूलो रहेको अनुभव गर्दै आफ्नो कार्यकालमा ठोस कानुनी सुधार गर्न सफल भएकोमा आफैलाई समेत गर्वको अनुभूति हुने बताए ।
उनले कोशी प्रदेशले सिटी सफारीका लागि गरेको कानून सुधारको अभ्यासको अध्ययन गर्न अन्य प्रदेशबाट समेत आउन थालिसकेको बताउँदै आफू पदमा नरहँदा समेत थप सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले ट्राफिक व्यवस्थापन, सवारी नियमको पालना लगायतका कामलाई थप प्रभावकारी बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले विकल्पले सार्वजनिक गरेको अनुसन्धानलाई प्रदेश सरकारले ग्रहण गर्दै सरोकारवालाहरूसँगको सहकार्यमा आगामी दिनमा काम गर्ने बताए ।
त्यस्तै, कार्यक्रममा विकल्पद्वारा आयोजित नेपाली समाजमा सिटी रिक्साको भूमिकाु विषयक भिडियो प्रतियोगितामा विजयीहरूलाई समेत नगदसहित सम्मान गरेको थियो। भिडियो प्रतियोगितामा प्रथम हुने संगम पौडेललाई २५ हजार , दोस्रो सत्य राजवंशीलाई १८ हजार,तेस्रो हुने सीताराम कोइरालाललाई १० हजार र चौथो हुने अनिश हमाललाई ७ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।
विकल्पका संस्थापक एवम् कार्यकारी निर्देशकले विकल्पले स्थापनादेखि नेपालीहरूले देशभित्रै काम गरेर खान पाउनु पर्ने माग राख्दै जीविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको पछिल्लो समय सिटी सफारीसँग ठूलो जनसङ्ख्याको आर्जनको विषय जोडिएकोले सो विषयमा काम गर्दै आइरहेको बताए ।
