फायल फोटो
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आएको परिवर्तनका लागि हाम्रो अभियान नामक संस्थाले यतिबेला पालिकाका सबै विद्यालयलाई डिजिटल बनाउने प्रयास थालेको छ । यसका लागि शुक्रबार पालिकाका सामुदायिक तथा संस्थागत गरि सबै ३६ वटा विद्यालयका शिक्षकहरुसँग अन्तरकृया गर्ने भएको छ ।
बुढीगंगाकै टंकिसिनवारी जेसिज भवनमा आयोजना हुने कार्यक्रममा अन्तरकृया गरि उत्प्रेरणा जगाउँदै डिजिटल साक्षरताको विषयमा बुझाएर सबै विद्यालयलाई वेभसाइट वितरण गर्ने तयारी गरिएको संस्थाकी अध्यक्ष रिता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार ‘पालिकास्तरीय शिक्षक अन्तरकृया, उत्प्रेरणा, डिजिटल साक्षरता र वेभसाइट वितरण’ कार्यक्रममा सिस्नुपानी नेपालका महासचिव प्राध्यापक सरोज घिमिरेले सहजिकरण गर्नुहुनेछ भने डिजिटल साक्षरताको विषयमा ए एस सोलुसनका प्रोपाइटर प्रनिश श्रेष्ठले सहजिकरण गर्नु हुनेछ ।
पालिकास्तरीय यूवा सम्मेलन, प्रदेश स्तरीय यूवा सम्मेलन, धान दिवस, तिज मिलनलगायतका विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले पालिकाभित्रको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरकृया गर्दै विद्यालयलाई प्रविधि मैत्री बनाउँदै अघि बढाउन सहिजकरण गर्न लागेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
वेभसाइट सञ्चालन गर्दा अभिभावक, शिक्षक , कर्मचारी र विद्यार्थी सबैलाई सूचना आदान–प्रदान देखि अनेक विषयमा सहज हुने संस्थाले विश्वास लिएको छ ।
