विराटनगर । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत मासिक रुपमा ५ बर्ष मुनीका बालबालिकालाई सेवन गराईदै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम आगामी पौष २१ गते पुन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रवोध चौधरीले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रि«य कार्यक्रमको रुपमा सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यस केन्द्रले शुरुमा १६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको थियो । दोश्रो स्वर्णविन्दू प्राशन गर्ने बालवालिकाको सङख्या ३४१ पुगेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चौधरीले बताउनुभयो । दोश्रो महिनामा नयाँ १८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको र पुनरावृत बालबालिकाको संख्या १६० गरि कुल ३४१ पुगेको थियो । यस महिनामा अन्य थप वालबालिकाले पनी स्वर्ण विन्दु सेवन गर्ने उहाँले बताउनुभयो ।
आयुर्वेद पञ्चकर्मका एम.डी. चौधरीका अनुसार राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई मोरङमा अझै व्यवस्थित र एकरूपताका साथ अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।उहाँका अनुसार विराटनगरका १ न वडा देखी १९ नम्बर वडा सम्मका बालबालिकालाई यो कार्यक्रममा अनिवार्य रुपमा समावेश गर्न सबैमा आग्रह गर्नुभयो । शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर यो औषधी खुवाइने छ ।
स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो, जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गरिन्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिनु र उनीहरूलाई विभिन्न रोगबाट बचाउन यसको प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने शास्त्रिय मान्यता छ ।
