विराटनगर । विराट ट्रेड एक्स्पोको थिमेटिक सेसनमा शुक्रबार (आज) नवप्रवर्तन, लगानी र समावेशी वृद्धिमार्फत व्यवसाय निर्माण विषयमा छलफल भएको छ ।
छलफलको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया रहेका थिए । पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा भएको छलफलमा विभिन्न सेसनहरु संचालन भए ।
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. रमाकान्त दास, विराट ट्रेड एक्स्पोका संयोजक अमित शारडा, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष तथा थिमेटिक सेसनका संयोजक अनिल शारडा र सह–संयोजक धिरज मोहता सहभागी थिए । व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले कक्षा कोठादेखि विचारहरुसम्म आफ्नो प्रस्तुति दिए । सेसनको सहजीकरण विश्व विद्यालयका डेप्युटी कन्ट्रोलर इश्वर भण्डारीले गरेका थिए ।
उप–कुलपति विजु थपलियाले बिजनेस इकोसिस्टम अति नै महत्वपूर्ण भएको भन्दै इनोभेसन (सोच), उद्योग र लगानीकर्ताको सहकार्यबाट नै यो उन्नत रुपमा अघि बढ्न सक्ने बताए । उनले भने,‘‘शिक्षा, उद्योग र सोच महत्वपूर्ण हुन्छ । यसबाट नै व्यवसाय र औद्योगिक वातावरण बन्दै जाने हो ।’’ नीति र भौतिक पूर्वाधारको अझ महत्पूर्ण भूमिका हुने उनको जोड थियो ।
कोशीको बिजनेस इकोसिस्टमको लागि विश्वविद्यालयले समेत एउटा परिकल्पना गरेको बताउँदै बिरुवालाई पानी र सूर्यको प्रकाशले मात्र नहुने उदाहरण दिँदै बीउ चाहिएजस्तै नवप्रवर्तन उद्यमका लागि सोच महत्वपूर्ण हुने सुनाए । उनले भने,‘‘कुनैपनि कुरा योजना सानो स्वरुपबाट नै शुरु हुने हो । बिजनेस आईडिया र उद्यम पनि त्यसरी नै शुरु हुने हो ।’’
थपलियाले उत्तरमा तिब्बत, पूर्वमा बंगाल र दक्षिणमा बिहार जस्ता ठूला राज्य हुन उद्यम र व्यवसायको हिसाबले निकै ठूलो बजार भएको सुनाए । ईन्डो–चाइना बिजनेस कोशी प्रदेश भएर हुनसक्ने ठूलो सम्भावना भएको उनले औंल्याए । किमाथाङ्का सडक र एसियन हाइवे यहाँको व्यापार विस्तारमा ठूलो अवसर भएको भन्दै उनले भने,‘‘कोशी निकै महत्वको प्रदेश हो । उत्तर–पूर्व, दक्षिण र पश्चिमका सम्भावनाहरु हेरेर नै बिजनेस आईडियाहरु बनाइनु पर्छ ।’’ थपलियाले विश्व विद्यालयका विद्यार्थीलाई कक्षाबाट बाहिरको व्यवसायिक वातावरणबारे समेत अध्ययन गर्न अवसर प्रदान गर्ने र विभिन्न वाणिज्य संघहरु सँगको सहकार्यमा ब्रिजिङको काम गरिरहेको बताए ।

व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले कक्षा कोठादेखि विचारहरुसम्म आफ्नो प्रस्तुति दिए । कक्षा कोठामा पढ्नु पर्छ, पढ्नु पर्छ भन्नेमात्र मानसकितामा अघि बढ्ने गरेको भन्दै डिग्री लिनेमात्र सोच लिन नहुने सुझाव दिए । उनले भने,‘‘जहाँ जोखिम छ त्यही असल काम गर्नसक्ने गरी संघर्ष गर्नुपर्छ । कक्षा कोठालाई व्यवहारिक सिकाईको स्थान र प्रयोगशाला बनाईनु पर्छ ।’’ सबैमा केही न केही विशेषता हुने भएकोले क्रिटिकल थिंकिङ राखेर अघि बढ्नु पर्ने उनले सुझाव दिए । कुनैपनि विचारहरु गलत नहुने भन्दै श्रेष्ठले त्यसलाई सार्थक बनाउन बाटो पहिल्याउनु र अनुभवमा आधारित अध्यापनमा जानुपर्नेमा जोड दिए ।

मोरङ उद्योग व्यापार संघले आयोजना गरेको थिमेटिक सेसन शुक्रबार सम्पन्न भएको छ । थिमेटिक सेसनका संयोजक अनिल शारडाले निकै छोटो तयारीमा सेसन आयोजना गरिएपनि निकै सफल भएको बताए । उनले भने,‘‘छलफल भएका विषयले विद्यार्थी तथा नयाँ पुस्तामा राम्रो ज्ञान आर्जन हुनुका साथै उद्यमशीलता विकासमा सहयोग पुग्यो भन्ने हामीले अपेक्षा गरेका छौं ।’’ उनले स–साना उद्यमबाट नै सफल र ठूला उद्यमशीलता विकास हुने बताए ।

